चाडपर्वमा सर्वसाधारणले भोग्नुपरेको यातायातको सकस अन्त्य गर्नुपर्छ- सांसद ज्वाला
काठमाडौँ । सांसद प्रकाश ज्वालाले दसैँ–तिहार जस्ता चाडपर्वमा सर्वसाधारणले हरेक वर्ष भोग्नुपरेको यातायातको सकस अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने बताएका छन् ।
आज आइतबार प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिमा बोल्दै उनले यस विषयमा सरकारको ध्यानाकर्षण गराए । उनले यातायात व्यवसायीहरूले मनोमानी भाडा बढाउने, बिचौलियाले टिकटको कालोबजारी गर्ने र क्षमताभन्दा बढी यात्रु (ओभरलोड) बोक्ने जस्ता समस्यालाई कडाइका साथ अनुगमन र नियन्त्रण गर्न माग गरे ।
उनले भाडा समायोजनलाई वैज्ञानिक बनाउन स्वचालित प्रणाली (अटोमेसन) मा लैजानुपर्ने र अनलाइन टिकट प्रणालीलाई व्यवस्थित गर्नुपर्ने सुझाव दिए । साथै उनले सडक सुरक्षाका लागि छुट्टै ‘सडक सुरक्षा ऐन’ तत्काल ल्याउन पनि सरकारलाई दबाब दिए ।