प्रधानमन्त्री ओली यसपटक भारत भ्रमणमा नेपाली सेनाको विमानबाट जाने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली यसपटक भारत भ्रमणमा नेपाली सेनाको विशेष विमानबाट जाने तयारी भएको छ ।

परम्परागत भ्रमणभन्दा फरक यसपटक दुवै देशका प्रधानमन्त्रीबीच बोधगयामा भेटवार्ता हुने भएकाले काठमाडौँबाट सिधै सेनाको हेलिकोप्टरमा जाने तयारी भएको हो । प्रधानमन्त्रीलाई भारतीय समकक्षी नरेन्द्र मोदीको औपचारिक निम्ता लिएर विदेश सचिव विक्रम मिश्री आज काठमाडौँ आइपुगेका छन् । यता नेपाली सेनाको विमानबाट प्रधानमन्त्रीको भ्रमणका लागि आवश्यक अनुमति लिने प्रक्रिया पनि सैनिक मुख्यालयले अघि बढाएको छ ।

सेनासँग भिआइपी सवारीको लागि अन्तर्राष्ट्रिय उडान भर्ने एउटा विशेष विमान रहेको छ । प्रधानमन्त्री ओली र मोदीबीच गौतम बुद्धले बोधिसत्व प्राप्त गरेको ऐतिहासिक तथा धार्मिक सहर बोधगयाको महाबोधि सांस्कृतिक केन्द्रमा द्विपक्षीय वार्ता तथा सम्झौताहरू हुने तयारी छ । भदौ ३१ देखि असोज २ गतेसम्म प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डल बोधगयाको ह्यात प्यालेस होटेलमा रहने गरी २ दिन सो होटेल खाली गराइने भएको छ । भारतीय विदेश मन्त्रालयले २ दिनका लागि सो होटेल भारत सरकारको नाममा बुक गरिसकेको भारतीय दूतावास स्रोतले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *