साफ यू–१७ महिला च्याम्पियनसिपमा भुटानविरुद्ध नेपालको जित
काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले पहिलो जित निकालेको छ । शुक्रबार भुटानको चिङलिमिथाङ रंगशालामा घरेलु टिमलाई २–१ ले पराजित गर्दै प्रतियोगितामा नेपालले पहिलो जित दर्ता गरेको हो । नेपालको जितमा साहारा लिम्बूले दुई गोल गरिन् । भुटानकी कुएन्डेन सोनम त्सोग्येलले गोल गरे पनि टोलीको हार टार्न सकिनन् । खेलको ४२औँ मिनेटमा भुटानकी कुएन्डेनले टोलीलाई अग्रता दिलाइन् ।
५८औँ मिनेटमा नेपालको निम्ति टोलीकी साहाराले बराबरी गोल फर्काइन् । ७७औँ मिनेटमा उनै साहाराले दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् । जितसँगै नेपालले च्याम्पियनसिपमा पहिलो तीन अंक जोडेको छ । यसअघि नेपाल पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको थियो । नेपालले अब तेस्रो खेलमा बंगलादेशको सामना गर्नेछ । खेल आगामी आइतबार (अगष्ट २४) मा हुनेछ । भुटानले भने लगातार दोस्रो हार बेहोरेको हो । प्रतियोगितामा नेपाल, भुटान, भारत र बंगलादेश छन् । प्रतियोगिताको सबै खेल डबल राउन्ड रोबिन पद्धतिमा सञ्चालित छन् ।