मेरो स्मृतिको त्यो सत्याग्रह

काठमाडौँ । (सत्याग्रह साप्ताहिकको २७ औँ बार्षिकोत्सव विशेष) प्रमुख, पत्रकारिता तथा आमसञ्चार विभाग, रत्न राज्यलक्ष्मी क्याम्पस, काठमाडौँ सत्याग्रह साप्ताहिकले वार्षिकोत्सव मनाउन लागेको जानकारी दिँदै सीतारामदाईले फोन मार्फत आफ्नो स्मरण लेखिदिन आग्रह आयो । सर्व प्रथम म पत्रिकाले नेपाल र नेपाली समाजका लागि पु¥याएको योगदानको उच्च कदर गर्छु र आगामी दिनमा यसले झन् सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्न सकोस् भन्ने कामना गर्दछु ।

दाइको फोन पाएपछि केही समय त मलाई के लेख्ने भन्ने निर्णय गर्न निकै कठिन भयो । साढे दुई दशक अघिको घटनाका धेरै सम्झना मसँग छैनन् । तर सत्याग्रहमा काम गर्दाको छोटो र स्वर्णिम अनुभवले मलाई मेरो पत्रकारिता जीवनमा ठुलो मदत पु¥याएको छ । त्यो स्मृति मेरा लागि केवल कामको सम्झना मात्र होइन, मेरो पत्रकारिता यात्राको एउटा रोमाञ्चक र सुनौलो पाना पनि हो । साढे दुई दशक अघि केही समय सत्याग्रह साप्ताहिकमा काम गर्ने अवसर पाएको थिए भन्दा म रोमाञ्चित हुन्छु । आज ती दिनलाई सम्झँदा मनमा धमिला तर आत्मीय तस्बिरहरू घुम्छन् । विशेष गरी, बिजुली बजार स्थित पत्रिकाको सानो तर जीवन्त कार्यालय, सम्पादक सरोज मिश्रको जोस, मेहनत, प्रभुनारायण बस्नेत दाईबाट काम गर्नका लागि पाइने प्रेरणा, सीतारामदाईको व्यवस्थापन कला सम्झेर म अझै रोमाञ्चित हुन्छु । सहकर्मीहरू बिचको त्यही आत्मीयताले मलाई पत्रकारितामा अग्रसर हुन प्रेरित गरेको हो । त्यो समय आज जस्तो प्राविधिक सुविधा थिएन । कम्प्युटर, इन्टरनेट, मोबाइल वा सामाजिक सञ्जालको पहुँच नभएका कारण पत्रकारिताको स्वरूप पूर्ण रूपमा फरक थियो । समाचार सङ्कलन देखि सम्पादन र प्रकाशनसम्म सबै काम हामी गथ्यौ । पत्रिका छापेर बचेको कागज (न्युज प्रिन्ट) मा लेख्ने, त्यसलाई टाइप गर्ने, अनि सम्पादन प्रक्रियामा लैजाने, घण्टौँको मेहनतबाट ‘लेआउट’ तयार गर्ने र मध्य राति प्रेसमा पठाउने गरिन्थ्यो । प्रत्येक अङ्क तयार पार्दा सानो टिमका बिच परिवारका सदस्यहरूले घरका काम गरे जस्तो सौहार्दपूर्ण वातावरणमा काम हुन्थ्यो । एक अर्कालाई सहयोग गर्ने संस्कार थियो । त्यति बेलाम रत्न राज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता अध्ययन गरिरहेको थिएँ । पढाइसँगै अनुभव पनि लिनुपर्छ भन्ने सोचले रेडियो नेपाल, विमर्श साप्ताहिक र सत्याग्रह साप्ताहिकमा एक साथ काम गर्थेँ ।

काठमाडौँमा बस्न, पढ्न र आफूलाई टिकाइ राख्न यी अवसरहरू निकै उपयोगी थिए । नयाँ सिकारु भएकाले पारिश्रमिक धेरै थिएन । तै पनि हिजो आज जस्तो महँगी नभएकाले सत्याग्रहबाट समयमै पाइने पारिश्रमिकले ठुलो मदत पुगेको थियो र मलाई पत्रकारिता पेशामा लागि रहन उत्साह थपेको थियो । अफिसको वातावरण पनि अलि फरक थियो । मिडिया मालिक र श्रमिक बिच कठोर दूरी वा औपचारिक व्यवहार थिएन । बरु परिवारका सदस्य जस्तै आत्मीय सम्बन्ध थियो ।सम्पादक देखि सामान्य कर्मचारीसम्म सबैले एक अर्कालाई सहयोग गर्ने वातावरण थियो । जसले गर्दा हामीलाई पत्रिकामा काम गरौँ गरौँ जस्तो लागि रहन्थ्यो । ती दिन नेपालमा पत्रिका पढ्ने संस्कृतिको प्रभाव व्यापक थियो । पत्रिका कम थिए, तर तिनको प्रभाव धेरै थियो । समाचार प्राप्त गर्ने प्रमुख माध्यम नै पत्रपत्रिका र रेडियो थिए । नेपाल टेलिभिजन बाहेक निजी क्षेत्रका च्यानल खुली सकेका थिएनन् ।

इन्टरनेट सामाजिक सञ्जाल कल्पना बाहिरका कुरा थिए । पत्रिका पसलहरूमा मानिसहरूको भीड लाग्थ्यो । किन्न सक्नेहरू मुख्य मुख्य पत्रिका किन्थे । पैसा नहुनेहरू पसलमै उभिएर सबै अखबार खारखुर पढ्थे । कतिपयले एउटा–दुई पत्रिका मात्र किने पनि सबै जसो पत्रिका पढ्ने गर्थे । यसले गर्दा पत्रिका केवल सूचना दिने माध्यम मात्र नभई, बहस र विचार निर्माण गर्ने थलोसमेत बनेको थियो । तिनै पत्रिकाको माझ सत्याग्रह साप्ताहिकले पनि राजनीतिक, सामाजिक, सांस्कृतिक मुद्रामा बहस चलाउने, जनमत बनाउने काममा सशक्त भूमिका निर्वाह ग¥यो । विकृति, विसङ्गति, भ्रष्टाचार र अनियमितता विरुद्ध जनमत बनाउने काम ग¥यो । सत्याग्रहले निडर, निष्पक्ष र तथ्यमा आधारित भएर बसाएको जगकै कारण आज सम्म पनि पत्रिकाले पाठकको मनमा विशेष स्थान पाइरहेको छ । जनतामा विश्वास र आलोचनात्मक चेतना जगाउने काम गरिरहेको छ । म छोटो समय मात्र सत्याग्रहमा रहे ।

कान्तिपुर टेलिभिजनसँग आबद्ध भए पछि रेडियो नेपाल, विमर्श र सत्याग्रह छोडे । तर त्यहाँ रहँदा पाएको ज्ञानले मेरो पत्रकारिता जीवनमा सधैँ मदत गरी रह्यो । सत्याग्रहमा बिताएका दिनहरू स्मरण गर्दा अझै पनि म रोमाञ्चित हुन्छु । सत्याग्रह साप्ताहिकसँगको मेरो अनुभव केवल व्यक्तिगत स्मृति मात्र होइन, नेपाली पत्रकारिता यात्राकै एउटा अध्याय हो । पत्रिकाको वार्षिकोत्सवका अवसरमा म केवल पुराना दिन सम्झिँदै भावुक मात्र भएको छैन, आगामी दिनमा पनि सत्याग्रहले आफ्नो गौरवशाली परम्परालाई निरन्तरता दिन सकोस् भन्ने कामना गर्दछु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *