धर्म प्रचारको आरोप अमेरिकी नागरिक पक्राउ
काठमाडौं, भदौ १० । एकजना अमेरिकी नागरिकलाई क्रिश्चियन धर्मको प्रचार गरेको आरोपमा ललितपुरबाट अध्यागमन विभागले नियन्त्रणमा लिएको छ ।
‘यशू ख्रिष्टको सेवक हुँ’ भन्दै सार्वजनिक स्थानहरूमा खुलेआम धर्म प्रचार गरिरहेका ती अमेरिकी नागरिक डेनियल एस कोर्नी नाम गरेका व्यक्ति हुन्, जसले लगनखेल बसपार्क, जावलाखेल र सुनधाराजस्ता व्यस्त स्थानहरूमा आफ्नो धर्म अभियान चलाउँदै हिँडेको पाइएको थियो । अध्यागमन विभागका निर्देशक टिकाराम ढकाल नेतृत्वको टोलीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
सन् २०१५ देखी नेपाल बस्दै आएका कोर्नी सुरुमा पर्यटन भिसामा प्रवेश गरेका थिए । सुरुमा पर्यटक भिसामा प्रवेश गरे पनि पछि बिजनेस, व्यापार गर्न लगानी ल्याउन नसकेपछि अध्ययन भिसा लिएर उनले विश्वभाषा क्याम्पसमा अध्ययन पनि गरे । पछिल्लो समय ललितपुर महानगरपालिका–१८ भैंसेपाटीमा उनले नेपालीहरूसँग मिलेर ४ तले घर भाडामा लिएर बालगृह सञ्चालन गरेको भेटिएको छ ।
चिन्ताजनक कुरा के भने, उक्त बालगृहमा राखिएका २० जना कमजोर आर्थिक पृष्ठभूमिका बालबालिकालाई धार्मिक प्रचारप्रसारमा प्रयोग गरिएको तथ्य फेला परेको छ । निरीह बालबालिकालाई सेवाको नाममा धर्म परिवर्तन गराउने यस्तो गतिविधि निश्चय नै घोर आपत्तिजनक र आपराधिक कार्य हो। नेपालमा विदेशी सहयोगका नाममा चलाइने यस्ता कार्यहरू धर्म प्रचार मात्र नभई मौलिक धर्म, संस्कृति र अस्तित्वमाथि प्रहार हुन् । गरिबी र अशिक्षालाई हतियार बनाएर प्रलोभन देखाई धर्म परिवर्तन गराउने काम नेपालमा वर्षौंदेखि हुँदै आएको हो ।
आर्थिक पृष्ठभूमि कमजोर भएका बच्चाहरूलाई ल्याएर बालगृहमा उनको समूहले क्रिश्चिचयनधर्म पढाउने गरेको भेटिएको छ । त्यसबारे अनुसन्धान भइरहेको निर्देशक ढकालले जानकारी दिए ।