आसामसँगको टी-२० शृंखला नेपाल ‘ए’विजयी

काठमाडौं । भारतको गुवाहाटीमा सम्पन्न भएको आसाम क्रिकेटविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जितेको छ । सोमबार भएको अन्तिम टी-२० मा नेपाल ‘ए’ ले आसामलाई ४४ रनले हराउँदै शृंखला ३-२ ले आफ्नो पक्षमा पारेको हो । नेपाल ‘ए’ ले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्र बनाउन सक्यो । आसामका लागि भार्गव लहकरले सर्वाधिक अविजित २९ तथा साहिल जेन र कप्तान सुमित घडिअन्करले समान २५ रन बनाए । सौरभ दिहिगाले १७ रन बनाए । नेपालका लागि शेर मल्ल, आकाश चन्द र पवन सर्राफले २-२ तथा बसिर अहमदले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ‘ए’ले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाउँदै आसामलाई २०९ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । ‍३९ बलमा उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाए । आसामका आयुष्मान मलाकार र अभिनव चौधरीले २-२ विकेट लिए । बिहीबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपाल ‘ए’ डीएल पद्धति अनुसार १५ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ९६ रनले विजयी भएको थियो । त्यस्ते तेस्रो खेलमा शनिबार ९ रनले नेपाल ए विजयी भएको थियो भने चौथो खेलमा आइतबार आसाम १८ रनले विजयी भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *