एनआइएमबी एस क्यापिटलद्वारा ‘रोड टु आइपीओ’ कार्यशाला सम्पन्न
काठमाण्डौं । एनआइएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एसोसिएट्स र आइसिआरए नेपाल लिमिटेडसँग सहकार्यमा “रोड टु आइपीओ” कार्यशाला सम्पन्न गरेको छ । कार्यक्रममा विशेष गरी कर्पोरेट संस्थाहरूलाई प्राथमिक सार्वजनिक शेयर निष्काशन (आईपीओ) प्रक्रिया र सूचिकरणका लागि आवश्यक रणनीतिक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखिएको थियो । कार्यक्रमको उद्घाटन गर्दै क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडेले आईपीओलाई कम्पनीको दीर्घकालीन रणनीति निर्माण, पूँजी संरचना मजबुत बनाउन र समग्र आर्थिक विकासमा टेवा पुर्याउने महत्वपूर्ण साधनका रूपमा व्याख्या गरे ।
कार्यशालामा पायोनियर ल एसोसिएट्सका तर्फबाट अनुपराज उप्रेतीले सार्वजनिक निष्काशनसँग सम्बन्धित कानूनी व्यवस्था र प्रक्रियागत पक्षहरूमा प्रष्ट पारेका थिए। एनआइएमबी क्यापिटलका डेपुटी सिइओ सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, आईपीओको उपयुक्त समय, विधि, पूँजी संरचना, मूल्य निर्धारण र समयरेखाबारे धारणा राखे। इक्रा नेपालका रेटिङ प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय अवस्था र क्रेडिट रेटिङले लगानीकर्ताको विश्वासमा पार्ने प्रभावबारे प्रस्तुति दिए। यस पहलमार्फत आयोजक संस्थाले वित्तीय साक्षरता प्रवर्द्धन, संस्थागत सुशासन सुदृढीकरण र नेपाली व्यवसायलाई सूचिकृत बजारमा प्रवेश गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।