जनकपुरमा दुई समुदायबीच भएको विवाद समाधान गर्ने सहमति
जनकपुरधाम उपमहानगरपालिका–२० देवपुरा रुपैठामा दुई समुदायबीच भड्किएको तनावलाई अन्त्य गर्न सर्वपक्षीय सहमति गरिएको छ । सहमति अनुसार अबदेखि दुवै पक्षले सामाजिक सद्भाव कायम राख्न आवश्यक सहयोग पुर्याउने प्रतिबद्धता जनाएका छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार, भदौ १४ र १५ गतेका घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाही गर्न सबै पक्ष सहमत भएका छन् । साथै, कुनै पनि समुदाय वा व्यक्तिले धार्मिक वा सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्ने र त्यस्तो कार्य गर्न खोज्ने व्यक्तिमाथि सूक्ष्म निगरानी गरी कानूनी प्रक्रिया अघि बढाइने सहमति भएको छ ।
सद्भाव कायम राख्न राजनीतिक दल, जनप्रतिनिधि, दुवै धार्मिक समुदायका अगुवाहरु सहभागी सर्वपक्षीय बैठकमा विगतमा तेलिया पोखरीको विवाद व्यवस्थापन गर्ने सहमति समेत गरिएको छ । गत शनिबार र आइतबार देवपुरा रुपैठामा तनावग्रस्त स्थिति सिर्जना भएको थियो । शनिबार गणेश पूजाको मूर्ति विसर्जन गरी फर्कँदा हिन्दु समुदायले झण्डाचोकमा रहेको टावरलाइट पोलमा बाँधिएको हरियो झण्डा हटाउन खोज्दा विवाद भएको थियो । त्यसक्रममा दुवै समुदायबीच झडप भएपछि प्रहरीले अवस्था नियन्त्रणमा लिन ११ सेल अश्रुग्यास प्रहार गरेको थियो । आइतबार सर्वपक्षीय सहमतिअनुसार दुवै समुदायले लगाएको झण्डा हटाउन खोज्दा पुनस् तनाव बढेको थियो । त्यस क्रममा हिन्दु समुदायबाट ढुंगामुढा भएपछि प्रहरीसँग झडप भएको थियो । स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले ३० राउन्ड फायर र ३१ सेल अश्रुग्यास प्रहार गरेको थियो । सो क्रममा स्थानीय २९ वर्षीय लक्ष्मण मुखिया दुवै खुट्टाको घुँडामा गोली लागेर घाइते भए भने ढुंगामुढामा सात जना प्रहरी घाइते भएका थिए ।