सोलुखुम्बुमा थुनिएको थामे खोला ‘ओभर फ्लो’ हुँदा ५ घर बगायो

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ५ मा बाढीले ५ घर बगाएको छ । आइतबार रातिदेखिको वर्षाका कारण पासाङल्हामुगाउँपालिकाको थामे खोलामा बाढी आएको हो । बाढीले ५ घरमा आंशिक क्षति पुर्‍याएको खुम्बु पासाङल्हामु गाउँपालिकाले एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरका अनुसार थामे खोलामा तलाउ जस्तो बनेर थुनिएको पानी ओभर फ्लो भएर बग्दा खोला किनारका घर बगाएको हो ।

त्यस क्षेत्रका घरहरूबाट यसअघि नै मानिसहरूलाई स्थानान्तरण गरिसकिएका कारण ठूलो क्षति हुन नपाएको उनले बताए । नेपाल प्रहरी र नेपाली सेनाको टोलीले प्रभावित क्षेत्रमा अनुगमन र आवश्यक सहायताका लागि निगरानी गरिरहेको प्रहरी नायव उपरीक्षक कुँवरले जानकारी दिए । थुनिएर तलाउ बनेको पानी ‘ओभर फ्लो’ भएर धार परिवर्तन गरी बग्दा तटीय क्षेत्रमा कटान गरेको उनको भनाइ छ । खुम्बु पासाङल्हामु गाउँपालिकाका अनुसार बाढीले बिजुलीका पोलमा क्षति पुर्‍याएकाले त्यस क्षेत्रमा विद्युत प्रशारणलाइन र सञ्चार सेवा समेत अवरुद्ध भएको छ । निरन्तर वर्षा भइरहेकाले सम्भावित क्षतिलाई ध्यानमा राख्दै थामेसहित सबै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन गाउँपालिकाको आग्रह छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *