भ्रामक समाचार वा गलत व्याख्याको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न नाडाको आग्रह

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका (नाडा)ले भ्रामक समाचार वा गलत व्याख्याको पछि नलागी संस्थाको आधिकारिक सूचना र लोकतान्त्रिक प्रक्रियामा विश्वास राख्न आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै नाडासम्बन्धमा प्रकाशित समाचारहरूले संस्थाबारे भ्रम फैलाउने प्रयास भएकोप्रति गम्भीर आपत्ति भएको जनाइएको छ । समाचारमा गरिएका सबै दाबीहरू तथ्यबिहीन र निराधार भएको नाडाले उल्लेख गरेको छ । ‘नाडाले सधैं आफ्नो गतिविधि प्रचलित कानुन, विधान र संस्थागत प्रक्रियाअनुसार मात्र अघि बढाउँदै आएको छ भन्ने कुरा यस अवसरमा स्पष्ट पार्न चाहन्छौ, नाडाले भनेको छ, ‘नाडाको केन्द्रिय कार्यसमितिले २०८२ भाद्र ३ र ८ गतेका बैठकहरूमा दीर्घकालीन संस्थागत सुदृढीकरणका लागि नाडालाई महासंघमा रूपान्तरण गर्ने प्रस्तावबारे अन्तिम निर्णय लिनु पर्ने भएकाले यस सम्बन्धमा विशेष साधारण सभाबाट स्पष्ट म्यान्डेट प्राप्त गर्ने निर्णय गरिसकेको छ । नाडाले यस प्रक्रियामा सदस्यहरूले आफ्नो मताधिकार प्रयोग गर्ने अधिकार सुरक्षित गरिएको जनाएको छ । साथै, विशेष साधारण सभा बोलाउने निर्णय अवैधानिक वा संस्थाको इमानदारीता माथि प्रहार भन्ने दाबीहरू पूर्ण रूपमा असत्य भएको नाडाको दाबी छ । यस विषयमा प्राप्त उजुरीका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले प्रारम्भिक रूपमा विशेष साधारण सभा स्थगित गर्न निर्देशन दिएको समेत नाडाले उल्लेख गरेको छ ।

‘तर, दुवै पक्षसँग छलफल गरी नाडाबाट आवश्यक कागजात र स्पष्टीकरण प्राप्त गरेपछि का.जि.प्र.कार्यालयले च.नं. १३० मिति २०८२।०४।१५ को पत्रमार्फत उक्त स्थगन आदेश फुकुवा गरेको छ । सो पत्रमा स्पष्ट रूपमा उल्लेख गरिएको छ कि प्रचलित कानुन, संस्थाको विधान र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार संस्थाले वार्षिक साधारण सभा, विशेष साधारण सभा वा अन्य आवश्यक निर्णय गर्न सक्ने अधिकार राख्दछ, विज्ञप्तिमा भनिएको छ, ‘यससँगै नाडाको विशेष साधारण सभा तोकिएकै मितिमा निर्वाध रुपमा सम्पन्न हुने मार्ग प्रशस्त भएको छ । नाडाले पदाधिकारी हेरफेर वा कार्यकाल लम्ब्याउने जस्ता आरोपहरू पूर्ण रूपमा गलत भएको विज्ञप्तिमा उल्लेख गरेको छ । नाडाले कहिल्यै व्यक्तिगत स्वार्थ वा मनपरीका आधारमा निर्णय नगरेको । नेतृत्व चयन तथा पद हस्तान्तरण, सदस्यहरूको प्रत्यक्ष सहभागिता र मताधिकार मार्फत निर्वाचन सहितको साधारण सभाबाटै हुनेछ भन्नेमा संस्था अडिग रहेको पनि नाडाले दाबी गरेको छ । ‘यसै सन्दर्भमा, नाडाको अध्यक्ष म करणकुमार चौधरी, यस संस्थामाथि उठाइएका सबै भ्रामक दाबीहरूको खण्डन गर्दै पुनः स्पष्ट पार्न चाहन्छु— म पदमा बसिरहन कुनै व्यक्तिगत स्वार्थ राखेको छैन । यदि सबै सरोकारवालाले सहमति जनाउनु भयो भने, म तुरुन्तै निर्वाचन सहितको वार्षिक साधारण सभा बोलाएर पद हस्तान्तरण गर्न तयार छु, विज्ञप्तिमा भनिएको छ, ‘संस्थाको नेतृत्व सदस्यहरूको मताधिकार र लोकतान्त्रिक प्रक्रियाबाट नै तय हुन्छ भन्नेमा म दृढ छु ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *