एनआईसी एशिया क्यापिटलको ५० प्रतिशत नगद लाभांश पारित
काठमाडौं । एनआईसी एशिया क्यापिटलले नवौं वार्षिक साधारण सभा सम्पन्न गर्दै सेयरधनीलाई ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१।८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा,नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन अनुमोदन गरेको छ। सभामा सञ्चालक समितिका अध्यक्ष सन्तोष कुमार राठीले २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको क्यापिटलले समीक्षा अवधिमा ३० करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी र ११ करोड ६४ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको जानकारी दिए ।
उनका अनुसार आषाढ मसान्तसम्म ८ लाख डिम्याट खाता खोलिएको छ भने म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र १ वटा खुलामुखी गरी ५ योजना सञ्चालन गर्दै ५ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन गरिएको छ । लगानी व्यवस्थापन सेवामा ७२० ग्राहकबाट २ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम व्यवस्थापन भइरहेको छ । सेयर रजिष्ट्रार सेवाअन्तर्गत २३ कम्पनीलाई सेवा दिइरहेको क्यापिटलले हालसम्म १७ वटा कम्पनीको निष्काशन कार्य सम्पन्न गरिसकेको जनाएको छ । कम्पनीले यसअघि सम्म सेयरधनीलाई कुल २९० प्रतिशत बराबरको लाभांश वितरण गरिसकेको छ ।