एमाले विधान महाधिवेशन शुक्रबारदेखि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले भोलिदेखि हुने दोस्रो विधान महाधिवेनशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेशनमा दुई हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजक सहभागी हुनेछन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराका साथ आयोजना हुने महाधिवेशनमा पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले संठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना आयोगका प्रतिवेदन प्रस्तुत गर्नेछन् । प्रस्तुत प्रतिवेदनमा समूहगत छलफल हुनेछ । प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टी अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा विकसित राष्ट्रिय एवं अन्तरर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै वर्तमानका मुख्य चुनौती, पार्टीको कार्यदिशा, कार्यभारलगायत विषय समेटिएका छन् । प्रतिवेदनमा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्न र नेपाली विशेषतासहितको समाजवाद स्थापना गर्ने विशेष राजनीतिक प्रस्ताव तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पार्टीको गन्तव्यको रूपमा अगाडि बढाउने मार्गचित्र रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *