रास्वपा तलाउको एउटा तरंग जस्तै सेलाउँछ : एमाले

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नाटककीय ढंगले राजनीतिक रङ्गमञ्चमा उदाएको पार्टीको संज्ञा दिएको छ । ‘समाजमा असन्तुष्टि, गुनासो र बेथिति सिर्जना गर्दै त्यसबाट उत्पन्न नकारात्मकतालाई प्रयोग गर्दै केही दल र व्यक्तिहरू गत निर्वाचनबाट नाटकीय ढंगले राजनीतिक रंगमञ्चमा उदाए, गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा रास्वपाको चर्चा गर्दै भनिएको छ । रास्वपा तलाउमा उठेको तरंग जस्तै सेलाउने ठोकुवा एमालेले आफ्नो दस्तावेजमा गरेको हो । ‘विशेष गरेर नेकपाको विभाजन, जनादेशबाट सरकार चलाइरहेको एमालेलाई परमादेशबाट गरिएको विस्थापन, त्यसपछिका नीतिहिन गठबन्धन र त्यसले सिर्जना गरेका राजनीतिक विकृतिले गर्दा समाजको एउटा तप्काले विकल्पको खोजी गरिरहेको थियो, अगाडि भनिएको छ, ‘समाजको यही मनोविज्ञानलाई पपुलिस्टहरूले राम्रैसँग दुरुपयोग गरे ।

एमालेले रास्वपासँग प्रश्न र समस्या भए पनि उत्तर र समाधान नभएको पार्टी भनेको छ । ‘उनीहरुका हातमा प्रश्नहरू थिए, उत्तर थिएन । हातमा समस्याको चाङ थियो तर समाधानको कुनै विकल्प थिएन । न कुनै वैचारिक(राजनीतिक स्पष्टता । न विगतको कुनै विरासत र योगदान न कुनै सुस्पष्ट गन्तव्य । न त निश्चित वर्गआधार र लक्षित समूह, दस्तावेजमा भनिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्मलाई हतियार बनाएर राजनीति गरिरहेको बताएको छ । ‘राप्रपा र अन्य राजावादी समूहहरू राजतन्त्र फर्काउने सपना देख्छन्, कतिपयले धर्मलाई राजनीतिक हतियार बनाउन चाहन्छन्, दस्तावेजमा छ । जन्मजात श्रेष्ठताको सामन्ती विचारले र त्यस्तो विचार बोक्ने त्यसका अनुयायीहरूले आजको लोकतान्त्रिक युगमा समाजको नेतृत्व गर्ने कुरा कल्पना बाहिरको कुरा भएको एमालेले भनेको छ । दस्तावेजमा भनिएको छ, ‘पछिल्लो समय राजावादीका नाममा संविधान नै नमान्ने, प्रचलित कानुन र प्रशासनका आदेशहरुको अवज्ञा गर्ने, शान्तिपूर्ण प्रदर्शनका नाममा हिंसा र अराजकता मच्चाउने प्रवृत्ति बढेको छ । यो स्वीकार्य हुन सक्दैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *