जेनजी आन्दोलनलाई शान्तिपूर्ण समाधानतर्फ लैजान कांग्रेसको आग्रह
काठमाडौं। नेपाली कांग्रेसले हालको अस्थिर र जटिल राजनीतिक परिस्थितिबाट बाहिर निस्कन सबै पक्षलाई संयम, संवाद र एकतामा जोड दिन आग्रह गरेको छ। कांग्रेसले जेनजी पुस्ताको भावना र आकांक्षा अनुरूप मुलुकलाई अगाडि लैजान संविधान र लोकतान्त्रिक प्रक्रियामार्फत मात्र समाधान खोज्नुपर्ने बताएको छ। महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिद्वारा सुरु गरिएको संवाद र परामर्शको पहलको स्वागत गरिएको छ। विज्ञप्तिमा भनिएको छ,
“मुलुकमा लामो संवैधानिक रिक्तता नआओस् भन्नका लागि सबै निर्णय संविधानको दायराभित्रै भएर अगाडि बढ्नुपर्छ। समाधान लोकतान्त्रिक र वैधानिक बाटोबाटै खोजिनुपर्छ, यसमा कांग्रेसको समर्थन रहनेछ।”
प्रधानमन्त्रीमाथि ढिलाइ गरेको आरोप
कांग्रेसले सामाजिक सञ्जाल खोल्ने र प्रधानमन्त्रीको राजीनामा माग गर्ने जस्ता विषयलाई समयमै सम्बोधन नगरेकाले स्थिति थप बिग्रिएको जनाएको छ।
“प्रधानमन्त्रीको ढिलाइका कारण परिस्थिति नियन्त्रणबाहिर गयो र मानवीय क्षति भयो,” विज्ञप्तिमा उल्लेख छ।
हिंसात्मक गतिविधि र आगजनीको निन्दा
कांग्रेसले हालैका प्रदर्शनका क्रममा भएको हिंसा, आगजनी र सार्वजनिक सम्पत्तिको नष्टप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई निन्दनीय बताएको छ। विज्ञप्तिमा भनिएको छ, “जेनजी युवाहरूको आन्दोलन शान्तिपूर्ण थियो, तर केही स्वार्थी समूहले घुसपैठ गरी योजनाबद्ध रूपमा सरकारी संरचना, ऐतिहासिक धरोहर र निजी सम्पत्तिमा क्षति पुर्याएका छन्।”
छानबिन र कारबाहीको माग
प्रदर्शनका क्रममा भएको बल प्रयोग र हिंसात्मक गतिविधिको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन कांग्रेसले माग गरेको छ। साथै, देशभर भएका क्षतिपूर्ति र पुनर्निर्माणका लागि तत्काल ठोस योजना बनाउन सरकारलाई आग्रह गरेको छ।
आत्मसमीक्षा र पुनर्निर्माणको प्रतिबद्धता
कांग्रेसले नयाँ पुस्ताको आकांक्षा बुझ्नमा ढिलाइ गरेको स्वीकार गर्दै पार्टीलाई जरा स्तरदेखि पुनर्गठन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।“अब युवाहरूको भावना र अपेक्षालाई आत्मसात् गर्दै जिम्मेवार राजनीति गर्नेछौं,” विज्ञप्तिमा उल्लेख छ। कांग्रेसले मुलुकलाई अस्थिरताबाट निकाल्न र पुनर्निर्माणको यात्रामा सबै नेपालीलाई संयमित भई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेको छ। “सामाजिक एकता र सद्भाव हाम्रो विशेषता हो। यसलाई मजबुत बनाउँदै स्थिरता र प्रगतितर्फ अघि बढौं,” विज्ञप्तिमा भनिएको छ।