“सपनाहरू टुटेका छैनन्, अठोट भाँचिने छैन,सबैले हातेमालो गर्दै नेपाली पर्यटन उठाउने सङ्कल्प गरौँ ”

जेन-जी प्रदर्शनका क्रममा भएका दुःखद घटनामा परी ज्यान गुमाउनु भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति र साहस प्राप्त होस् भनी समवेदना व्यक्त गर्दै सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ । तर दुर्भाग्यवश, प्रदर्शनका क्रममा भएका घटनामा परि सार्वजनिक कम्पनीका रूपमा सञ्चालनमा रहेको यस मौलाकाली केबलकारमा समेत आगजनी र तोडफोड भई ठुलो क्षति हुन पुगेको छ । गैँडाकोट र नवलपुरको पहिचान, पवित्र भूमि देवघाटको शिर, नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको यो मौलाकाली केबलकार गण्डकी क्षेत्रकै साझा गौरव र राष्ट्रिय सम्पत्तिको प्रतीक हो । साथै मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति होइन, यो हजारौँ स्थानीय सेयर धनीहरूको संयुक्त लगानी तथा मेहनतको जगमा बनेको हो । देशकै पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि सगसगै स्थानीय रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। त्यसैले यहाँ भएको तोडफोड र आगजनीले केवल हाम्रा स साना लगानीकर्ताहरू मात्र होइन, गैँडाकोट तथा चितवनका स्थानीयबासिहरु, कर्मचारी, उहाँहरूको परिवार तथा सम्पूर्ण पर्यटन क्षेत्रलाई नै गहिरो पीडा दिएको छ ।तोडफोडबाट क्षति कम गर्न, आगजनी नियन्त्रण गर्ने क्रममा सहयोगको हात बढाएर सक्रिय भूमिका निर्वाह गर्नुभएका सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूप्रति हामी हृदयदेखि नै आभार व्यक्त गर्दछौँ । यति ठुलो क्षति भए पनि हाम्रो सपना र अठोट भाँचिएका छैनन् । हामी सबैले हातेमालो गरी छिट्टै सेवा सुचारु गर्नेछौँ र अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने सङ्कल्प गर्दछौँ । हाम्रो यो सङ्कल्पलाई पहिले जस्तै अघि बढाउन स्थानीय समुदायको निरन्तर सहयोग रहने अपेक्षा सहित र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह गर्दछौँ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *