फिलिपिन्सका जनता पनि सरकारविरुद्ध सडकमा
काठमाडौँ । नेपाल र फ्रान्सपछि अब फिलिपिन्सका जनता पनि सरकारविरुद्ध सडकमा निस्किएका छन् ।
राजधानी मनिला र अन्य शहरहरूमा हजारौं मानिसहरू बाढी नियन्त्रण परियोजनाहरूमा भएको ठूलो भ्रष्टाचारको विरोधमा प्रदर्शन गरिरहेका छन् । पछिल्ला केही हप्तादेखि निरन्तर विरोध प्रदर्शनहरू भइरहेका छन्। आइतबार फिलिपिन्स विश्वविद्यालय क्याम्पसमा करिब ३००० विद्यार्थीहरूले मार्च निकालेका थिए । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोसले जनता रिसाएकोमा उनलाई कुनै आपत्ति नरहेको बताएका छन् ।
उनले यदि मानिसहरू रिसाएका छन्, निराश छन् र न्यायको माग गरिरहेका छन् भने यो पूर्णतया जायज रहेको उनले बताएका छन् । फिलिपिन्समा ३० सांसद र सार्वजनिक निर्माण विभागका अधिकारीहरूलाई घुस लिएको आरोप लगाइएको छ । यस घुस प्रकरणमा राष्ट्रपतिका काका र संसदका सभामुख मार्टिन रोमुआल्डेजको नाम पनि आएको छ । यद्यपि, उनले आरोपहरू अस्वीकार गरेका छन् ।
राष्ट्रपतिले सर्वोच्च अदालतका पूर्व न्यायाधीश एन्ड्रेस रेयेसको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान आयोग गठन गरेका छन्। साथै, सार्वजनिक निर्माण विभागको प्रतिष्ठा बचाउन तीन अधिकारीहरूलाई पनि बर्खास्त गरिएको छ ।