जेनजी आन्दोलनकर्ताले लुटे बैंकको १८ केजी सुनसहित ३८ करोड
काठमाडौं । जेनजी आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आन्दोलनकर्ताहरुले बैंकका शाखाबाट ३७।३८ करोड रुपैयाँ बराबरको नगद र सुन लुटिएको बताए । उनका अनुसार संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी सुन गरेर ३७।३८ करोड रुपैयाँ लुटिएको छ । राष्ट्र बैंकको केही डिभिजनमा पनि क्षति पुर्याएको उनको भनाइ छ । ‘राष्ट्र बैंक परिषर बाहिर एनआरएनए भवनमा आक्रमण हुँदा सो भवनमा रहेका डिभिजनमा क्षति पुगेको छ । तर, कोर काम भएको ठाउँमा भने आक्रमण भएको छैन । तर, बैंकका ६८ वटा शाखा कार्यालय र ६९ वटा एटीएम मेसिनमा क्षति पुगेको छ,’ उनले भने, ‘एक ठाउँमा सिरियस लुटपाट भएको छ । संसद भवनभित्र रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखाबाट ५ करोड रुपैयाँ नगद र १८ केजी सुन गरी ३७र३८ करोड रुपैयाँ लुटिएको छ ।’ सो शाखाबाट लुटपाट गर्नको अनुसन्धान भइरहेको बताउँदै उनले भने, ‘लुटेर पनि कहाँ लैजाला र ? सिसिटिभी हेरिरहेका छौं ।’ यस्तै, नबिल बैंकको चाबहिल शाखा, राष्ट्रिय वाणिज्य बैंककै दुहबी शाखा आक्रमण गर्न गएपनि धेरै क्षति नभएको उनले बताए ।
तर, अन्य ठाउँमा बैंकलाई लक्षित गरेर भन्दा पनि सरकारी कार्यालय र विजनेश कम्प्लेक्समा आगजनी र तोडफोड गर्दा बैंकका शाखा, काउण्टर र एटीएम मेसिनमा क्षति पुगेको उनको भनाइ छ । ‘बैंकहरू नै लुट्ने नै भन्दा पनि भाटभटेनीभित्र रहेको एटीएम तोडफोड गरिएका छन् । उनीहरुको उद्देश्य एटीएम भन्दा पनि भाटभटेनी थियो,’ उनले भने, ‘सरकारी कार्यालय र विजनेश कम्प्लेक्समा रहेका बैंकको शाखा र एक्सटेन्सन काउण्टरमा आक्रमण भएको छ । तर, बैंक नै आक्रमण गरौं भनेर गएको भने देखिँदैन ।’ जेनजी आन्दोलनको समयमा भुक्तानी प्रणाली नियमित र डिजिटल पेमेन्ट एकछिन पनि नरोकिएको उनको दाबी छ । उनका अनुसार निक्षेपकर्ताहरुको निक्षेप सुरक्षित छ । लकरमा राखिएको पैसा सुरक्षित छ । बैंक खातामा राखेको रकम जोखिममा छैन ।