सिंहदरवारमा जलाइएका सवारीसाधनलाई व्यवस्थापन गर्न मन्त्री घिसिङको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेन जेड प्रदर्शनका क्रममा सिंहदरवार परिसरमा जलाइएका सवारीसाधनलाई अन्यत्र लगी व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
जलेका सवारीसाधनका कारण सिंहदरवार परिसर कुरूप देखिएकाले तिनलाई त्यहाँबाट हटाएर अन्यत्र लगी व्यवस्थापन गर्न उनले आज निर्देशन दिएको मन्त्री घिसिङको सचिवालयले जनाएको छ । “कार्यालयलाई थोत्रो देखाएर राख्नुभएन, भित्री भागमा काम गर्दै गरौँला तर बाहिरी भागलाई कुरूप हुन दिनुभएन, यथाशक्य छिटो राम्रो बनाऔँ । क्षति पुगेका सवारीसाधन यत्रतत्र छरिएर सिंहदरबार परिसर कुरूप देखिएको छ, अब सकारात्मक सन्देश दिन पनि तिनीहरूलाई तत्काल हटाएर व्यवस्थापन गरौँ ।” मन्त्री घिसिङले भनेका छन् ।
उनले विनाशबाट हामी उठ्यौँ भन्ने सन्देश दिन सामान्य आगलागी मात्र भएका भवनका बाहिर भागमा रङ रोगन गर्ने, मन्त्रालय तथा कार्यालय परिसरमा आगलागीबाट क्षति भएका सवारीसाधन तुरुन्त हटाउने र क्षतिको मूल्यांकन तत्काल गर्ने काममा जुट्न निर्देशन दिए ।














