भाटभटेनीले कर्मचारीलाई जागिरबाट ननिकाल्ने, सबैलाई दशैं भत्ता पनि दिने

काठमाडौं । जेनजी आन्दोलन र त्यसपछिको तोडफोड, लुटपाट र आगजनीबाट सबैभन्दा प्रभावित भाटभटेनीले कर्मचारीहरुलाई जागिरबाट ननिकाल्ने भएको छ । देशभरका १२ वटा स्टोर पूर्णरुपमा क्षति हुँदा भाटभटेनीलाई १० देखि १५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । तर, भाटभटेनीले भने ती स्टोरमा काम गर्ने कर्मचारीलाई कामबाट ननिकाल्ने, उल्टै दशैं भत्ता समेत दिने भएको छ । भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले भने, ‘मसँग आबद्ध भाइ बहिनीहरुको भविष्यका लागि लड्नुपर्ने छ । काम गर्न नपाए पनि उहाँहरुको तलब दिन्छु ।

भदौको तलब मात्र होइन दशैं भत्ता पनि पठाउँछौं । आफ्ना कर्मचारीहरुलाई परिवारको सदस्य भन्दै उनले थपे, ‘म चाहिँ दशैं मनाउने पक्षमा छैन । तर, मेरा बच्चाहरु जो मसँग आबद्ध छन् । उनीहरुले त दशैं मान्नुपर्छ नि । दशैंको भत्ता पनि पाउँछन् । आफू पैसा कमाउन मात्र व्यापारी नबनेको बताउँदै उनले आफ्नो दौडधुप देशकै लागि भएको बताए । ‘पैसा कमाउँ भन्नेमात्र सोच होइन, रोजगारी सिर्जना होस्, सबै जना सम्पन्न होऔं, देश बनोस् भनेर व्यापार गरेको हुँ । गुरुङले ३ महिनाभित्र काठमाडौंका केही स्टोर र १० महिनाभित्रमा सबै स्टोर सञ्चालनमा ल्याउने बताए । उनले अहिले नै एकीन नभए पनि १५ अर्ब रुपैयाँसम्मको क्षति भएको हुनसक्ने अनुमान गरे । ‘सबै जलेर खरानी भएको छ, लुटेर सखाप भएको छ,’ फेरि उभिन राम्रै मिहिनेत गर्नुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *