गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरीलाई २० थान मोटरसाइकल हस्तान्तरण
काठमाण्डौं । गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना)लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ। मंगलबार रामशाहपथस्थित कार्यालयमा आयोजित कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई सुदृढ बनाउन सहयोगस्वरूप मोटरसाइकल हस्तान्तरण गरिएको हो। गोल्छा ग्रुपले देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरेको जनाएको छ। मोटरसाइकल हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले अहिलेको कठिन परिस्थितिमा राज्यलाई बलियो बनाउन सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे। उनले भने, अहिलेको समय हाम्रो व्यवसायमा के भइरहेको छ भन्ने भन्दा पनि राज्य बच्नु महत्त्वपूर्ण छ। राज्य कमजोर हुँदा कोही पनि सुरक्षित रहन सक्दैन। उनले अहिलेको चुनौतीलाई प्रसव पीडासँग तुलना गर्दै परिवर्तनले नयाँ पुस्ताले देखेको सपना पूरा गर्ने विश्वास व्यक्त गरे। “निराश हुनुपर्ने छुट कसैलाई छैन, सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्छ,” उनले जोड दिए। गोल्छा ग्रुपले विगतदेखि नै विपत् र संकटका बेला आवश्यक सहयोग गर्दै आएको जनाएको छ। ‘हाम्रो सडक सुरक्षा, हाम्रै दायित्व ः सहकार्य गोल्छा ग्रुपको ट्राफिक प्रहरीसँग’ भन्ने मूल नारा सहित ग्रुपले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।