बुध्द एयरले ६ वर्षपछि कलकत्ता उडान गर्दै
काठमाडौं । बुध्द एयरले पुनः भारतको कलकत्ता उडान गर्ने भएको छ । यो वायुसेवाले ६ वर्ष अगाडि काठमाडौंबाट भारतको कलकत्ता सिधा उडान सुरु गरेको भए पनि ६ महिना नपुग्दै बन्द गरेको थियो । विगतमा भएको कमी कमजोरीलाई सच्चाउदै बुध्दले फेरि उडान गर्ने भएको छ । आगामी कात्तिकदेखि बुध्दले सातामा तीन उडान गर्ने भएको छ । यो वायुसेवाले काठमाडौंबाट कलकताको दुईतर्फी उडान हरेक साता आइतबार, मंगलबार र विहीबार गर्ने जानकारी दिएको छ । बुध्द एयरका अनुसार उडान तालिका सार्वजनिक भएसँगै यात्रुका लागि टिकेट बुकिङसमेत सुरु भइसकेको छ । डेढ घण्टाको यो उडानका लागि बुध्दले सेवा सुरु गर्न लागेको हो । यसअघि २०७६ जेठ १३ देखि केही समय बुध्दले काठमाडौंबाट कलकत्ता उडान सुरु गरेको थियो ।
यो वायुसेवाले जुन अपेक्षा राखेर उडान सुरु गरेको थियो त्यो अनुसारको व्यापार नभएको भन्दै उडान बन्द गरेको थियो । त्यतिबेला बुध्दले पर्यटकलाई सेवा दिने उद्देश्यले उडान सुरु गरेको भए पनि अपेक्षा अनुसार आगमन नबढेको भन्दै उडान बन्द गरेको थियो । बुध्दले एटीआर ७२ नामक ७२ सिट क्षमतको जहाजबाट उडान सुरु गरेको थियो । यो वायुसेवासँग हाल यही प्रकृतिका जहाज भएकोले एटीआर ७२ बाटै फेरि पनि नियमित उडान सुरु गर्ने भएको छ । बुध्दले सुरु गर्न लागेको कलकत्ता उडानको न्यूनतम भाडादर १४ हजार ५ सय रुपैयाँ रहेको छ । यो गन्तव्यमा अधिकतम भाडा ३१ हजार २ सय रहेको पनि ट्राभल एजेन्सीमा उपलब्ध टिकटमा देखिएको छ । यस्तै भारतकै बनारसमा बुध्दको नियमित उडान रहेको छ ।