जनमुखी सहकारी संस्थाको २८ औं साधारण सभा सम्पन्न

दोलखाकोे बैतेश्वर ५ मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले २९ औं स्थापना दिवस तथा २८ औं साधारण सभा सम्पन्न गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी मापदण्डलाई पालना गर्दै काठमाडौंमा एकाइ नं. १ अन्तर्गत हिजो साधारण सभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष माधवप्रसाद दहालको सभापतित्वमा भएको सभाको प्रमुख अतिथि समाजसेवी चन्द्रप्रसाद दहाल रहेका थिए । सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष दहालले स्थापना कालदेखि विभिन्न चुनौतीहरुको सामना गर्दै संस्था दोलखा जिल्लामा मात्र नभई बागमती प्रदेशकै अग्रणी संस्थाको रुपमा स्थापित हुन सकेको बताए । संस्थामा २२ हजार सदस्य आवद्ध रहेको र उनीहरुमार्फत् संकलित १ अर्ब ४० करोड पुँजीलाई आयस्तर वृद्धि गर्ने क्षेत्रमा परिचालन गदैं आएको उनले बताए । संस्थाले सदस्यहरुकै व्यवसाय र जीविकोपार्जनमा ऋण परिचालन गरी आर्थिक सशक्तिकरणमा योगदान पु¥याउँदै आएको उनको भनाई छ । संस्थाले सदस्यहरुको आवश्यकता अनुसार बचत र ऋणको प्रडक्ट बनाई लागु गर्ने , वित्तीय साक्षरतालाई निरन्तरता दिने, कृषक र उद्यमीहरुलाई सहुलियत ब्याजदरमा ऋण लगानी गर्ने,डिजिटल प्लाटफर्ममार्फत् सदस्यहरुलाई सहज रुपमा वित्तीय सेवा दिने र युवा उद्यमीलाई रोजगारी सृजना गर्न स्वरोजगार उद्यमी कार्यक्रम सञ्चालन गरिने अध्यक्ष दहालले सभामा जानकारी दिए । पर्यावरण संरक्षणको लागि वृक्षारोपण, सरसफाई अभियान, प्लाष्टिक जन्य वस्तुको प्रयोगमा न्युनिकरण गर्ने कार्यक्रम सञ्चालन गर्ने पनि उनको भनाई छ । सभामा सचिव लक्ष्मण चौलागाँईले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै नीति, विधि र आधुनिक प्रविधिको प्रयोगमार्फत् सदस्यहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बताए । संस्थाले गत आबमा बचत तथा ऋण व्यवस्थापन, सामाजिक तथा सामुदायिक क्रियाकलाप,छात्रवृति प्रदान,रक्तदान, सदस्य सम्मान जस्ता थुप्रै क्रियाकलाप गरेको उनले सभामा जानकारी दिए ।

सभामा आब २०८१।०८२ को वित्तीय प्रतिवेदन प्रस्तुत गरिएको थियो । संस्थाले गत असार मसान्तसम्म २१ हजार ५९४ सदस्यमार्फत् १० करोड ७३ लाख शेयर पुँजी संकलन गरेको छ भने जगेडा कोषमा ९ करोड ७ लाख पुगेको छ । संस्थाले १ अर्ब १० करोड ८८ लाख बचत संकलन गरी ९९ करोड ९९ लाख ऋण लगानी गरेको छ । गत बर्ष संस्थाले १ करोड ५६ लाख खुद बचत आर्जन गर्न सफल भएको छ । संस्थाले कृषि, व्यापार, जग्गा खरिद, हायर पर्चेच,युवा स्वरोजगार,शैक्षिक, वैदेशिक, मासिक, आवधिक जस्ता क्षेत्रमा ऋण लगानी गरेको छ । संस्थाले यस अघि नै जिल्लाका विभिन्न ९ स्थानमा सदस्यको सहजताको लागि क्षेत्रगत रुपमा साधारण सभा सम्पन्न गरिसकेको छ । संस्था सदस्य केन्द्रीत कार्यक्रमा अगाडि देखिएको छ । सहकारी भनेकै सदस्यहरुको लागि भएकाले संस्थाले बाल बचतकर्तादेखि जेष्ठ सदस्यहरुलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले सदस्य विमा कार्यक्रम, जटिल रोग उपचारका लागि सहयोग,जीवनवृती भत्ता,अपाङ्ग सदस्य भत्ता,मृत्यु संस्कार सहयोग,पारिवारिक सुरक्षा योजना,दैवी विपत्ती राहत,सुत्केरी महिला शिशु स्याहार,जेष्ठ सदस्य सम्मान र विद्यार्थीहरुलाई छात्रवृति कार्यक्रम सञ्चालन गर्दै आएको छ । संस्थाले आधारभूत तहदेखि स्नातहक तहसम्म अध्ययन गर्ने १४० जना विद्याथीहरुलाई २ हजारदेखि ६ हजारसम्म छात्रवृति प्रदान गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *