राजमार्गमा पहिरै पहिरो

काठमाडौं । संघीय राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका काठमाडौं–मुग्लिङ सडकखण्ड र मुग्लिङ–नारायणगढ सडकखण्ड अवरुद्ध छ । यी सडकखण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ । इच्छाकामना गाउँपालिका–६, तुइनखोलामा ठूलो पहिरो खस्दा सवारी आवागमन प्रभावित बनेको छ । पहिरो खस्दा गत शुक्रबारदेखि सडक अवरुद्ध भएको थियो । यसबीचमा पहिरो जाँदै, पन्छाउँदै सडक सञ्चालनको कार्य भइरहेको थियो । मंगलबार खसेको ठूलो पहिरो बुधबार पन्छाउने कार्य गरिएको थियो । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार, कुनै अवरोध नभए बिहीबार पहिरो पन्छाइसकिन्छ । चितवनतर्फको घोप्टेभीरमा पनि बुधबार पहिरो खसेको छ । यता, धादिङको बेनिघाट गाउँपालिका–१०, जवाङखोलामा पुनः पहिरो गएको छ । मंगलबार बिहान करिब उक्त स्थानमा ठूलो सुक्खा पहिरो खसेको थियो र, पन्छाइएर सडक सञ्चालन गरिएको थियो । सोही ठाउँमा बुधबार (असोज ८ साँझ पुनः पहिरो खसेको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए । अहिले पानी परिरहेको छ । पानी रोकिन थालेपछि पहिरो हटाउन थाल्छौँ, प्रमुख जिल्ला अधिकारी सुवेदीले भने । त्यस्तै, धादिङकै खटौटी पुलनजिक पनि पहिरो खसेको छ । पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *