आन्दोलनबाट अलग भएको होइन : डा.भट्टराई
काठमाडौं । नेपाल समाजावदी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पद छाडेका नेता डा. बाबुराम भट्टराईले आफू आन्दोलनबाट अलग नभएको बताएका छन् । बिहीबार (असोज ९) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले ‘नाति पुस्ता’ले ढोका ढकढक्याइसकेकाले आफूले अध्यक्ष पद त्यागेको स्पष्ट पारे । म कुनै आन्दोलनबाट अलग भएको होइन । नयाँ शक्ति वैकल्पिक राजनीतिक अभियान, देशलाई कुनै विकल्प निर्माण गर्ने अभियानमा हिजो पनि थिएँ । आज पनि छु । निरन्तर रहनेछु । उनले अब नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताए ।
नैतिक हिसाबले पनि नवयुवाले ढोका ढकढक्याइसके । नाति, नातिनी पुस्ता अघि आइसके । अब उनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ । उनीहरूले नै देशको नेतृत्व गर्नुपर्छ भन्ने मान्यता राख्छु । वर्तमान सरकार आन्दोलनकारीप्रति प्रतिबद्ध हुनुपर्नेमा उनले जोड दिए । उनले ‘जेनजी’ आन्दोलनमा मृत्यु भएकाका परिवारको मागप्रति ऐक्यबद्धता जनाए । सामान्य सहयोग पाएनौँ भनेर गुनासो गरिरहनुभएको छ । राहतको व्यवस्था, कम से कम बालबालिकाको पढाइको व्यवस्था र एकजनालाई रोजगारी दिनुपर्ने उहाँहरूको माग छ । त्यसप्रति ऐक्यबद्धता गर्न चाहन्छु । भट्टराईले भदौ २३ गते सरकारले दमन गरेको बताए । त्यसपछि भदौ २४ गते प्रतिगामी र पानी धमिलो पारेर माछा मार्ने शक्ति सक्रिय भएको उनले उल्लेख गरे ।