रास्वपाले १० महिनादेखि दिएको छैन भाडा, घर खाली गर्न सुचना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय सार्न घरबेटीले तीनमहिने सूचना दिएका छन् । घर खाली गर्न रास्वपालाई सूचना दिएको दुई हप्ता हुन लागेको घरधनी भरत देवकोटाले जानकारी दिए । उनका अनुसार, प्रतिमहिना साढे तीन लाख रुपैयाँमा सम्झौता भएको थियो । तर, सम्झौताअनुसार रास्वपाले १० महिनादेखि भाडा दिएको छैन । उनले सुरक्षाको समेत समस्या भएपछि घर खाली गर्न भनेको जानकारी दिए । एउटा त पार्टी कार्यालयमा जहिले पनि जोखिम हुने रहेछ । मसमेत त्यहाँ बस्ने हुँदा सुरक्षाको जोखिम धेरै भयो, हाल अमेरिकामा रहेका भरत देवकोटाले भने, मेरो जीवनभरको कमाइ त्यहाँ लगानी छ । एउटा पार्टीलाई भाडामा दिएर जोखिममा राख्न चाहन्नँ ।
उनका अनुसार, १० वर्षका लागि भएको सम्झौतामा प्रत्येक तीन वर्षमा रिभ्यूु गर्ने उल्लेख छ । तर, तीन वर्ष पनि नपुग्दै जोखिम बढेपछि आफूले तीन महिना पहिला सूचना दिनुपर्ने सम्झौताअनुसार खाली गरिदिन आग्रह गरेको उनले बताए । देवकोटाले रास्वपाको अनुशासन आयोगको अध्यक्ष भएरसमेत काम गरेका थिए । तर, पछिल्लो समय उनी रास्वपाको साधारण सदस्यमात्र छन् । उनकै नेतृत्वमा तत्कालीन सांसद डा. ढाकाकुमार श्रेष्ठमाथि कारबाही भएको थियो । तर, महामन्त्री डा. मुकुल ढकालमाथि कारबाही हुँदासम्म उनले अध्यक्षबाट राजीनामा दिइसकेका थिए ।