रुसले किभमा गर्‍यो भीषण आक्रमण

काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले गरेको भीषण आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको छ । अन्य २७ जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार, रातभर जापोरिझ्झियासहित धेरै क्षेत्रमा ड्रोन आक्रमण हुँदा तीन बालबालिकासहित कम्तीमा १६ जना घाइते भएका छन् । युक्रेनका विदेशमन्त्रीले पछिल्ला आक्रमणमा सयौँ ड्रोन र क्षेप्यास्त्र प्रयोग भएको बताएका छन् । रुसले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । शनिबार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको युद्ध केवल युक्रेनमै सीमित नहुने चेतावनी दिएका थिए । उनका अनुसार, रुसले हालै नेटो सैन्य गठबन्धनका विभिन्न देशहरूमा गरेको घुसपैठमार्फत युरोपेली वायु रक्षा प्रणालीको परीक्षण गरिरहेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भइरहेका युद्ध अन्त्य गर्ने प्रयासहरूलाई अस्वीकार गर्दै आएका छन् । जेलेन्स्कीले भने, पुटिनले युक्रेनमा आफ्नो युद्ध अन्त्य गर्ने छैनन् । उनी अर्को कुनै मोर्चा खोल्ने छन् । तर, कहाँ भन्ने कसैलाई थाहा छैन । यही उनको चाहना हो । उनले यो भनाइ पछिल्लो रुसी आक्रमण सुरु हुनुभन्दा केही घण्टाअघि राखेका थिए । क्षतिको विस्तृत विवरण भने अझै आउन बाँकी छ ।
पोल्यान्डमा पनि सुरक्षा सतर्कता
छिमेकी पोल्यान्डमा रुसले पश्चिमी युक्रेनमा आक्रमण गर्दा आइतबार बिहानै जेट विमानहरू उडाइएको पोल्यान्डको सशस्त्र बलले जनाएको छ । पोल्यान्डको सेनाले यी कारबाहीलाई सुरक्षात्मक उपायको रूपमा व्याख्या गरेको छ । सेप्टेम्बर १० मा पोल्यान्डको आकाशमा पोल्यान्ड र नेटोका विमानहरूले तीनवटा रुसी ड्रोन खसालेपछि यस्ता कारबाहीहरू नियमितजस्तै भएका छन् । यसैहप्ता डेनमार्कले आफ्ना विमानस्थल नजिक ड्रोन उडेको बताएपछि मस्कोले त्यसको जिम्मेवारी अस्वीकार गरेको थियो । डेनमार्कले ती घटनालाई कुनै पेशेवर समूहको काम भनेको छ । तर, त्यसको पहिचान खुलाइएको छैन । इस्टोनियाले पनि रुसमाथि आफ्नो हवाई क्षेत्र युद्धक विमानद्वारा उल्लंघन गरेको आरोप लगाएको छ । यी घुसपैठपछि नेटोले आफ्नो पूर्वी भागलाई बलियो बनाउन विशेष मिसन सुरु गरेको छ । यसैबीच, पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेटो सदस्य राष्ट्रहरूलाई आफ्नो आकाशमा प्रवेश गर्ने रुसी विमानहरूलाई खसाल्नुपर्ने सुझाव दिएका छन् । उनले रुस–युक्रेन युद्धबारे आफ्नो अडान परिवर्तन गर्दै गत हप्तामात्र पहिलो पटक युक्रेनले मस्कोबाट आफ्नो सम्पूर्ण भूभाग पुनः फिर्ता लिन सक्ने धारणा व्यक्त गरेका थिए । यसअघि, रुसका विदेशमन्त्री सर्गेई लाभारोभले शनिबार संयुक्त राष्ट्र महासभामा सम्बोधन गर्दै आफ्नो देशले ईयू वा नेटो सदस्य राष्ट्रमाथि आक्रमण गर्ने कुनै योजना नराखेको बताएका थिए । तर, उनले मस्कोतर्फ लक्षित कुनै पनि आक्रमण भए निर्णायक जवाफ दिने चेतावनी दिएका थिए ।
बीबीसीबाट ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *