अमेरिकाको चर्चमा गोलाबारी र आगलागी, कम्तीमा चार जनाको मृत्यु

मिसिगन । संयुक्त राज्य अमेरिकाको मिसिगन राज्यमा रहेको लेटर डे सेन्ट्सको एक चर्चमा भएको गोलीकाण्ड र आगलागीमा कम्तीमा चार जनाको निधन भएको छ भने आठ जना घाइते भएका छन्। ग्रान्ड ब्ल्याङ्क बस्तीका प्रहरी प्रमुख विलियम रेनीका अनुसार, सन्दिग्ध आक्रमणकारी ४० वर्षीय थोमस जेकब स्यानफोर्ड पनि मारिएका छन्। पहिलो आपत्कालीन आह्वान आएको आठ मिनेटभित्र घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूको गोलीबाट उनको मृत्यु भएको हो। प्रहरी प्रमुख रेनीले आइतबार साँझको पत्रकार सम्मेलनमा भने, गिर्जाघरभित्र थप दुईवटा शव फेला परेका छन् । आगलागीका कारण गिर्जाघर पूर्ण क्षति भएकाले अझै केही मानिसहरू बेपत्ता हुनसक्ने बताए। त्यही पत्रकार सम्मेलनमा डेट्रोइटका विशेष प्रतिनिधि जेम्स डेइरले प्रारम्भिक अनुसन्धानबाट सन्दिग्ध व्यक्तिले पेट्रोलजस्तो कुनै प्रज्वलनशील पदार्थ प्रयोग गरी गिर्जाघरमा आगो लगाएको सङ्केत मिलेको बताए। रेनीले यसअघि नै घाइतेमध्ये एक जनाको अवस्था चिन्ताजनक रहेको र बाँकी सात जनाको अवस्था स्थिर रहेको बताएका थिए।

अमेरिकी समाचार माध्यमहरूका अनुसार घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। प्रहरी प्रमुख रेनीले आक्रमणकारीको मनसाय अज्ञात रहेको बताए । आइतबार बिहान उनले गाडीलाई गिर्जाघरको मुख्य ढोकामा ठोक्काएपछि गाडीबाट बाहिर निस्केर बन्दुकबाट अन्धाधुन्ध गोली चलाएका थिए। घटनास्थलमा दुईवटा अमेरिकी झण्डा प्रदर्शन गरिएको चार ढोके सामान बोक्ने ट्रक फेला परेको छ। सामाजिक सञ्जालका दृश्यहरूमा गिर्जाघर पूर्ण रूपमा आगोको लप्काले घेरिएको देखिएको थियो, जुन अहिले नियन्त्रणमा लिइएको रेनीले जानकारी दिए। प्रहरी प्रमुखले आक्रमणकारीको मनसाय पत्ता लगाउन अनुसन्धानकर्ताहरूले उसको घरको खानतलासी गर्ने र फोनका अभिलेखहरू जाँच गर्ने पनि बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो भयानक गोलीकाण्डबारे आफूलाई जानकारी गराइएको बताए। उनले आफ्नो सामाजिक सञ्जाल मञ्चमा लेखेका छन्, सन्दिग्ध व्यक्ति मारिएका छन्, तर अझै धेरै कुरा पत्ता लगाउन बाँकी छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *