आईपीओ जारी गर्न लागेको बाजेको सेकुवाको वर्षकै व्यापार ४० करोड रुपैयाँ

काठमाडौं । बाजेको सेकुवाले गत आर्थिक वर्षमा पौने ४० करोड रुपैयाँको व्यापार गरेको छ । हालै मात्र पब्लिक कम्पनीमा परिणत भएको कम्पनीले एक वर्षमा ३९ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२४ मा ३३ करोड ७० लाख रुपैयाँ र सन् २०२३ मा १९ करोड १० लाख रुपैयाँको व्यापार गरेको हो । करिब चार दशकदेखि फुड एन्ड बेभरेज बिक्री गर्दै आएको कम्पनीले आफ्नो मेनुमा २ सय प्रकारका खानाको परिकार उपलब्ध गराउँदै आएको छ । कम्पनीले २४ वटा शाखामार्फत् रेस्टुरेन्टको चेन सञ्चालन गर्दै आएको छ । जसमा १९ वटा फ्रेन्चाइज मोडल र बाँकी ५ वटा कम्पनीले आफैंले चलाएको छ । बाजेका सेकुवाले निकट भविष्यमा नै सर्वसाधारणलाई सेयरधनी बनाउन योजना सहित आईपीओ जारी गर्ने योजना बनाएको छ । कम्पनीको ६ वटा शाखा भने पूर्ण विदेशी फ्रेन्चाइजमा सञ्चालित छन् । जसले गर्दा अन्तर्राष्ट्रिय विस्तारका लागि प्रोत्साहन गरेको देखिन्छ । कम्पनीका अनुसार गत आवमा सन् २०२४ को तुलनामा व्यापार ३१ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार बढ्नुमा शाखाको संख्या बढ्नु हो ।

कम्पनीले चालु आर्थिक वर्षमा पनि अन्य विभिन्न स्थानामा शाखा विस्तार गर्ने योजना बनाएको छ । कम्पनीले गत आवमा १७ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा १४ प्रतिशत नाफा कमाएको थियो । कम्पनीले विशेषगरी नेपाली बार्बिक्यु रेस्टुरेन्टको चेन देशभर सञ्चालन गर्दै आएको छ । कम्पनीले विभिन्न प्रकारका सेकुवाको स्वाद नेपाली बजारमा पस्किँदै आएको छ । कम्पनीले दिँदै आएको सेवा नेपालीहरुले निकै रुचाइएको पाइन्छ । कम्पनीको अध्यक्ष चेतनाथ भण्डारी हुन् । उनीसँग अटोमोटिभ, रिटेल, सूचना प्रविधि र रियल इस्टेट क्षेत्रमा अनुभव छ । त्यसैगरी कम्पनीको प्रबन्ध निर्देशकमा नितिमा भण्डारी छिन् । उनीसँग सामाजिक र हस्पिटालिटी डोमेनको अनुभव छ । उनी बैश्नो इन्टरप्राइजेज, बाजेको सेकुवा एलएलसी, युएसए, चेनी क्यापिटल र अन्य धेरै कम्पनीमा फाउन्डर र निर्देशक हुन् । नेपालमा रेस्टुरेन्ट क्षेत्रमा उच्च प्रतिस्पर्धा छ । नेपालमा छिटो सेवा दिने रेस्टुरेन्ट जस्तै केएफसी, पिज्जा हट र डोमिनोलगायत अन्य आक्रामक तरिकाले अगाडि बढेको स्वदेशी चेन जस्तै बर्गर हाउस, चिकेन स्टेसन र अन्य नयाँ ब्रान्डहरुले गर्दा निकै प्रतिस्पर्धा र चुनौती थपिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *