आर्यतारा शाक्य बनेकी छन् नयाँ कुमारी
काठमाडौं । काठमाडौं, इटुम्बहाल निवासी साढे दुई वर्षीया आर्यतारा शाक्य आज नयाँ कुमारीको रूपमा विधिपूर्वक आसन ग्रहण गर्दैछिन्। शुभ साइत अनुसार आज दिउँसो १२ः०५ बजेदेखि १२ः१६ बजेभित्र विशेष पूजाआजासहित उनलाई कुमारीघरमा जीवित देवीको आसनमा अभिषेक गरिने कार्यक्रम तय गरिएको छ। यसै क्रममा हालसम्म कुमारीको भूमिका निर्वाह गरिरहेकी तृष्णा शाक्यलाई बाजागाजासहित बिदाइ गरिनेछ । गुठी संस्थान, पञ्चांग निर्णायक समिति तथा सरोकारवाला पक्षसँगको परामर्शपछि आर्यतारालाई विधिवत रूपमा कुमारीका रूपमा चयन गरिएको हो।
कुमारी चयनका लागि सबै बहालहरूलाई नाम सिफारिस गर्न पत्राचारसमेत गरिएको थियो। कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यका अनुसार, नवकुमारीलाई तलेजु भवानीको दर्शनका लागि विशेष शोभायात्रासहित मन्दिर लैजाने तयारी गरिएको छ। कुमारीलाई जीवित देवीका रूपमा पूजाआजा गरिन्छ र उनलाई महालक्ष्मीको प्रतीक मानिन्छ। किंवदन्तीअनुसार कुमारी प्रथा तत्कालीन राजा जयप्रकाश मल्लद्वारा स्थापना गरिएको थियो। कोजाग्रत पूर्णिमाका दिन राष्ट्रप्रमुखले समेत कुमारीको दर्शन गर्ने परम्परा रहेको छ।