भीमसेनस्थानमा आगलागीमा परी ससुराबुहारी घाइते
काठमाडौं । काठमाडौं महानगरपालिका–२२, भीमसेनस्थानमा आगलागीमा परी दुईजना घाइते भएका छन् । सोमबार (असोज १३) आगलागीमा परी मोरङको विराटनगर महानगरपालिका–१३ का ५८ वर्षीय मोहनकुमार साह घाइते भएका हुन् । उनको दाहिने खुट्टा जलेको छ । उनकी बुहारी ३३ वर्षीया दुर्गादेवी साह आगलागीका क्रममा भाग्ने क्रममा खुट्टामा चोट लागेर घाइते भएकी छन् । राष्ट्रिय ट्रमा सेन्टरमा उनीहरू दुवैजनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थानीय जुजुकाजी स्थापितको पाँचतले पक्की घरको दक्षिणपश्चिम भाग जलेर आंशिक क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दले जानकारी दिइन् । यस्तै, विनोद जोशीको पाँचतले घरमा आंशिक क्षति भएको छ ।
प्रह्लादकृष्ण मानन्धरको पक्की घरको पर्खाल भत्किएको छ । घनश्याम श्रेष्ठको तीनतले कच्ची घरमा आंशिक क्षति पुगेको छ । लक्ष्मण मानन्धरको पाँचतले पक्की घर पूर्ण क्षति भएको छ । शैलेन्द्रमान प्रधानको तीनतले कच्ची घर पनि जलेर पूर्ण क्षति भएको उनले जानकारी दिइन् । मोहनकुमार साहको तीनतले ट्रस्टको घर जलेर पूर्ण क्षति भएको छ । उक्त ट्रस्टमा रहेको जय वस्त्रालयका कपडा पूर्ण रूपमा जलेर नष्ट भएको छ । गजेन्द्रमान प्रधानको पाँचतले कच्ची घर जलेर पूर्ण क्षति भएको छ । क्षितिज प्रधानको तीनतले कच्ची घर पनि जलेर पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । सोमबार बिहान करिब साढे ४ बजे मोहन साहको दुईतले कच्ची घरस्थित कपडाको गोदाममा विद्युत् सर्ट हुँदा आगलागी भएको प्रहरीले जनाएको छ । करिब पाँच घण्टापछि (बिहान साढे ९ बजे) नौ दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिइएको थियो ।