रोशी खोलाले गर्यो ९ स्थानभन्दा बढी ठाउँमा सडक कटान, १ हजारभन्दा बढी यात्रु अलपत्र

काठमाडौं। गत असोजमा बगेको बीपी राजमार्गको विभिन्न स्थानमा बनेका डाईभर्सनहरु अविरल वर्षाको कारण पुनः बगेका छन् । इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार राजमार्गका विभिन्न ९ स्थान भन्दा बढी ठाउँमा रोशीले राजमार्गले बगाएको छ। उनका अनुसार रोशी र नमोबुद्धको सिमाना चौकीडाँडा, रोशी ७ को घुमाउने, रोशी ८ को चारसयबेशी मुनिको भाग, गिम्दीबेशी र स्याउलेबजार माथीको भाग, रोशी ९ को नार्के र बोक्सीकुना, रोशी ११ को डालाबेशी, पिप्ले र डालावेशीको विचको भाग बुलढुंगा, रोशी ११ पिप्ले, रोशी १२ माम्तीमा बीपी राजमार्ग कटान भएको इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। रोशी खोलाले रोशी ९ बोक्सिकुनामा अन्दाजी १५०–२०० मिटर, रोशी ७ घुमाउनेमा अन्दाजी १५ मिटर, नमोबुद्ध नगरपालिका ६ चौकीडाँडामा अन्दाजी २० मिटर, रोशी ११ स्थित बुलढङ्गा र डालावेशिमा अन्दाजी १००– १०० मिटर र रोशी ११ पिप्लेमा अन्दाजी ५० मिटर बाटो‌ कटान गरेको छ । उनका अनुसार राजमार्गकै अन्य स्थानमा भने विभिन्न कारणले सडक अवरुद्ध छ । रोशी १२ माम्तीमा पहिरोको कारण, रोशी ११ कालढुंगाको चार्जिङ स्‍टेशन नजिकै लेदो आएर राजमार्ग अवरुद्ध छ । त्यस्तै रोशी ९ को विरुवाडाँडामा फेदी खोला र साङ कोलाले ल्याएको लेदोले सडक अवरुद्ध छ भने रोशी ९ कै पिन्थलीवेशीमा समेत लेदोको कारण सडक अवरुद्ध छ । इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार राजमार्गको २ स्थानमा केही मोटरसाइकल चालकहरू फसेका थिए । त्यसपछि प्रहरीले समन्वय गरेर केही मोटरसाइकल र चालकलाई रोशी गाउँपालिकाको प्राङगणमा र केहीलाई लास्कोटवेशीमा राखिएको जानकारी दिए । फसेका ३९ सवारी साधनमध्ये केहीलाई लास्कोटवेशी र पालिकाको कार्यालयमा तथा ३ वटा ईभी, २ वटा बलेरो पिकअप, र एउटा प्राइभेट कारलाई इलाका प्रहरी कार्यालय मंगलटारमा राखिएको छ । शुक्रबारदेखि जारी निरन्तरको झरीले भइइरहेकोले सतर्कता अपनाउन स्थानीय प्रशासनले अनुरोध गरेको छ । जिल्लाभर कुनै समस्या परे १०० नम्बरमा फोन गर्न जिल्ला प्रहरी कार्यालय काभ्रेले अनुरोध गरेको छ ।
करिब १ हजार यात्रु विभिन्न स्थानमा अलपत्र
साँझसम्म बीपी राजमार्ग हुँदै गन्तव्यमा हिँडेका ४ सय ५२ महिला र ५ सय २ पुरुष गरी ९५४ जना यात्रु रोकिएका हुन् । बीपी राजमार्गअन्तर्गत् काभ्रेतर्फ १२ जना महिला र २७ जना पुरुष गरी ३९ जना यात्रु इलाका प्रहरी कार्यालय मंगलटार, काभ्रेमा रोकिएका हुन् । ३९ जना सबै साना सवारीसाधनमा यात्रारत रहेको प्रहरीले उल्लेख गरेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार सिन्धुलीमा ठूलो संख्यामा यात्रुहरु रोकिन पुगेका छन् । सिन्धुलीको ढुंगेबासदेखि दुम्जासम्म गरेर ९१५ जना यात्रुहरु रोकिएका हुन् । बसमा यात्रा गर्ने ५०० जना, सानो सवारीमा यात्रा गर्ने ३ सय र दुई पांग्रे सवारीमा यात्रा गर्ने १ सय २५ जना यात्रु रोकिएको प्रहरीले जनाएको छ । वर्षाका कारण बाढीले बीपी राजमार्ग अवरुद्ध बनेको छ । गत १०–१२ असोजमा भएको बाढीले सडक बगाएपछि बनाइएको डाइभर्सनहरु पुनस् बगाएसँगै गन्तव्यमा हिँडेका यात्रुहरु बिखलबन्दमा परेका हुन् ।
अलपत्र परेका यात्रुलाई निशुल्क रुपमा खाना र बस्न
स्थानीय बीपी र अरनिको राजमार्ग हुँदै यात्रा गर्दा अलपत्र परेका यात्रुलाई निशुल्क रुपमा खाना र बस्नको लागि घोषणा गरेका छन् । दुवै राजमार्गमा यात्रा गर्दा अलपत्र परेमा निशुल्क खाना र बस्ने व्यवस्था गरेको धुलिखेलमा रहेको होटल विहानीका सञ्चालक राजाराम गौतमले जानकारी दिए । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै कोही अलपत्र अवस्थामा कोही हुनुहुन्छ भने आफ्नो होटलमा निस्शुल्क खाना र बस्नको लागि व्यवस्था गरेको बताए। ‘मौसम यस्तो छ, निरन्तर वर्षा भइरहेको छ, यो बेलामा कोही अलपत्र पर्न सक्ने भएकाले यस्तो घोषणा गरेको हुँ।’गौतमले भने, ‘सहयोग सुरु भइसकेको छ।’ उनको होटलमा विभिन्न स्थानबाट फोन आइरहेको र विभिन्न स्थानमा बसोबासको व्यवस्थापन गरेको गौतमले जानकारी दिए। अहिले सम्म विभिन्न स्थानमा गरेर २०–२५ जना व्यक्तिहरु सम्पर्कमा आइसकेका छन् । त्यस्तै अरनिको राजमार्ग र बीपी राजमार्गबाट बनेपा हुँदै काठमाडौं वा कुनै लामो दूरी पुग्ने गरी यात्रामा निस्किएर अलपत्र परेकाहरूलाई बनेपाको तीन दोबाटो चोकमा रहेको तिमल्सिना स्वीट्स एण्ड भेज स्टेशनले निस् शुल्क खाना नास्ताको ब्यवस्था गरेको छ। २० गते सम्म निशुल्क खाना तथा खाजा खुवाउने सञ्चालक मुक्ति तिमल्सिनाले जानकारी दिए । यस्तै अलपत्र अवस्थामा कोही भए धुलिखेलको भट्टेडाँडामा रहेको रहेको हिमालयन सनराइज होटलमा समेत निशुल्क खाने बस्ने व्यवस्था गरेको होटल सञ्चालक अनिस तिमल्सिनाले जानकारी दिए । त्यस्तै बनेपामा रहेको व्ल्याक एण्ड ह्वाईट होटलले पनि निशुल्क बासको व्यवस्थापन गरेको छ । होटलका प्रोपाईटर नृपेश वादेले भारी वर्षाका कारण कुनै पनि व्यक्तिहरू अलपत्र नपरुन भन्ने उदेश्यले होटेलमा बसोबासको लागि निशुल्क रूपमा व्यवस्थापन गरेको जानकारी दिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *