कुन बैंकबाट पाइन्छ सबैभन्दा सस्तो ब्याजदरमा ऋण
काठमाडौं । वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) निरन्तर ओरालो लागि रहेको छ । विगत केही समय यता बैंकिङ प्रणालीमा बढ्दो तरलता र घट्दो निक्षेप ब्याजदरको परिणामस्वरूप आधार दर क्रममा देखिएको हो । तरलता प्रशस्त भएको परिस्थिति र घट्दो कर्जाको मागको प्रभावस्वरूप बैंकहरूले निक्षेपमा दिइने ब्याजदर कटौती गर्दै आएका छन्, जसले आधार दरमा समेत प्रत्यक्ष असर परेको हो । वाणिज्य बैंकहरुको औसत आधार दर ०.१२ प्रतिशत विन्दुले घटेको छ । असोज महिनाको लागि वाणिज्य बैंकहरुको औसत आधार दर ५.८२ प्रतिशत निर्धारण भएको छ । भदौ महिनाका लागि वाणिज्य बैंकको औसत आधारदर ५.९५ प्रतिशत निर्धारण भएको थियो । स्टान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम आधार दर कायम गरेको छ, जुन ४.६० प्रतिशतमा झरेको छ ।
यता, राष्ट्रिय वाणिज्य बैंकको ४.७२ प्रतिशत, एभरेष्ट बैंकको ५.०५ प्रतिशत, नेपाल बैंकको ५.३९ प्रतिशत, ग्लोबल आईएमई बैंकको ५.४९ प्रतिशत, कृषि विकास बैकको ५.५५ प्रतिशत, नबिल बैंकको ५.६७ प्रतिशत आधार दर रहेको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५.७८ प्रतिशत, सानिमा बैंकको ५.८६ प्रतिशत, माछापुच्छ्रे बैंकको ५.९६ प्रतिशत, एनएमबि बैंकको ६.०२ प्रतिशत, सिद्धार्थ बैंकको ६.०९ प्रतिशत, सिटिजन्स बैंकको ६.१९ प्रतिशत, एसबिआई बैंकको ६.०६ प्रतिशत, हिमालयन बैंकको ६.१३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.२१ प्रतिशत, प्रभु बैंकको ६.१६ प्रतिशत, कुमारी बैंकको ६.२२ प्रतिशत र प्राइम बैंकको ६.४० प्रतिशत आधार दर रहेको छ। एनआइसी एशिया बैंकको ६.९१ प्रतिशत आधार दर हाल सबैभन्दा उच्च रहेको छ । सबै बैंकको ब्याजदर एउटै नहुने भएकाले ग्राहकहरूले प्रिमियम दरको गणनामा ध्यान दिनुपर्ने हुन्छ । उदाहरणका लागि कुनै बैंकको आधार दर कम भए पनि यदि प्रिमियम उच्च थपिएको छ भने कुल ब्याजदर अन्य बैंकभन्दा महँगो हुन सक्छ । बैंकहरूले कर्जाको प्रकारअनुसार आधार दरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर ब्याज निर्धारण गर्छन् ।