४० सदस्यीय जम्बो फुटबल टोली भियतनाम प्रस्थान
काठमाडौं । एएफसी एसियन कप छनोट खेल्ने नेपालको राष्ट्रिय जम्बो फुटबल टोली भियतनामका लागि उडेको छ । टोली आज (मंगलबार) बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भियतनामको लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार राष्ट्रिय टोली दिल्ली हुँदै भियतनाम पुग्नेछ । एन्फाले सोमबार मात्रै सातदोबाटोस्थित एन्फा मुख्यालयमा टोलीको बिदाइ गरेको थियो । भियतनाममा नेपालले छनोटअन्तर्गत घरेलु टोलीसँग दुई खेल खेल्ने तालिका छ । नेपालले भियतनामसँगको दुई खेल्नुपर्ने थियो । तर, गत महिना एसियाली फुटबल महासंघ (एएफसी)ले काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालालाई अयोग्य ठहर गरेपछि नेपालले भियतनाममै आफ्नो होम र अवे गरी दुई खेल खेल्न लागेको हो । टोलीमा २३ खेलाडी र नौ अफिसियल छन् । यो अनिवार्य पनि हो । तर, एन्फाले पठाएको उक्त टोलीमा आठजना अतिरिक्त डेलिगेट्स छन् । र, यी सबैको खर्च एन्फाले नै बेहोर्ने महासचिव किरण राई बताउँछन् । महासचिव राई दुवै खेल भियतनाममै हुने भएकोले व्यवस्थापकीय पक्षलाई ध्यानमा राखी उक्त संख्यामा टोली पठाएको थप्छन् । हामीले दुवै खेल भियतनाममै हुने भएकोले यो संख्यामा पठाएका हौँ । नेपालमै हुनपर्ने होम खेल पनि त्यही हुने भएकोले व्यवस्थापकीय पक्षलाई ध्यानमा राखेर पठाएका हौँ । उनीहरू सबैको खर्च एन्फा आफैँले बेहोर्छ,” महासचिव राई बताउँछन् । टोलीमा अतिरिक्त डेलिगेट्सको रूपमा भियतनाम जानेहरूमा दीपक खतिवडा, महेन्द्र क्षेत्री, हितमान गुरुङ, नितेस रावल, राजुमान तुलाधर, कर्णबहादुर बस्नेत, रमाकान्त चौधरी र रमेश कुमार श्रेष्ठ छन् ।
एन्फाका प्रवक्ता सुरेश शाह पनि एन्फाले नियमअनुसार नै डेलिगेट्स थपेको दाबी गर्छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशक्षिक म्याट रोस खेलाडीहरू लयमा रहेको र सकारात्मक नतिजा आउनेमा आशावादी रहेको बताउँछन् । हामीले विगतका कमजोरीहरूलाई ध्यानमा राखेर पर्याप्त अभ्यास गरेका छौँ । सम्पूर्ण खेलडीहरू लयमै छन् । खेलाडीहरूमा शारीरिक, मानसिक रूपमा परिवर्तन देख्न सकिने छ । केही नयाँ खेलाडीहरू पनि टोलीमा समावेश भएका छन् । उनीहरूले पनि पर्याप्त अभ्यास गरेका छन्,” प्रशिक्षक रोसले भने । टोलीमा गत सेम्टेम्रबर ६ मा सम्पन्न बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा समावेश नभएका ६ खेलाडीलाई समावेश गरिएको छ । टोलीमा एएफसी यू–२३ एसियन कप छनोट खेल्न ताजाकिस्तान गरेका आयुष घलान र कृतिस रत्न छुँजुले स्थान बनाएका छन् । चोटका कारण मैदानबाहिर रहेका सनिश श्रेष्ठ र सुमित श्रेष्ठ पनि अटाएका छन् । त्यसैगरी रक्षक बिमल पाण्डे र गोलकिपर विशाल सुनारलाई मौका दिइएको छ । बिदाइ कार्यक्रममा टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ उपस्थित थिएनन् । उनी बंगलादेशबाटै भियनाममा टिमसँग जोडिने बताइएको थियो । छनोटको समूह ‘एफ’ मा रहेको नेपाल तालिकामा अंकविहीन छ । यसअघि मलेसिया र लाओस गरी दुई खेल खेलेको थियो । यी खेलमा नेपाल मलेसिया र लाओससँग क्रमशः २–० र २–१ ले पराजित भएको थियो ।