लिचीबारी जग्गा प्रकरणमा पूर्वमन्त्रीहरू राजकुमार र रञ्जितासहित सातजनाविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वभूमि सुधारमन्त्री रञ्जिता श्रेष्ठसहित सातजनाविरुद्ध अख्तियारले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा प्रतिवादीहरूविरुद्ध ७८ लाख बिगो दाबी लिइएको छ । जग्गा हिनामिना गर्ने योजनासहित ‘घुस डिल’ गरेको अडियो सार्वजनिक भएपछि पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठसहितलाई अख्तियारले बयान लिएर अनुसन्धान अघि बढाएको थियो ।

बिचौलियासहितका व्यक्तिको अडियोका आधारमा ‘लिचीबारी प्रकरण’मा मुद्दा अघि बढेको हो । तत्कालीन भूमिसुधारमन्त्री तथा एमाले नेता बलराम अधिकारीलाई भने मुद्दामा प्रतिवादी बनाइएको छैन । पोखराको बाटुलेचौरस्थित लिची बगानको १३४ रोपनी जग्गा सुकुम्बासीलाई बाँडेर लाभ उठाउने गरी तत्कालीन मन्त्रीहरूसहित कर्मचारी र बिचौलियाबीच भएको संवादको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए । मन्त्रीहरूसँगै तत्कालीन मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत रामचन्द्र अधिकारी र घुस डिल प्रकरणमा संलग्न सुजनकुमार तामाङ, एमकुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनलाई प्रतिवादी बनाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *