दूधपोखरी चेपे हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, बिक्री व्यवस्थापनमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । दूधपोखरी चेपे हाइड्रोपावर लिमिटेड र मुक्तिनाथ क्यापिटल लिमिटेडबीच कम्पनीको साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री व्यवस्थापनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार मुक्तिनाथ क्यापिटलले दूधपोखरी चेपे हाइड्रोपावरको आईपीओ निष्काशन र बिक्री व्यवस्थापकको भूमिका निर्वाह गर्नेछ । एक औपचारिक कार्यक्रममा दूधपोखरी चेपे हाइड्रोपावरका अध्यक्ष सबिन प्रधानाङ्ग र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
गोरखा र लमजुङ जिल्लाको सिमानामा पर्ने चेपे खोलामा निर्माणाधीन ११ मेगावाट क्षमताको दूधपोखरी चेपे हाइड्रोपावर आयोजनाको हालसम्म ७८ प्रतिशत निर्माणकार्य सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । बाँकी काम २०८२ साल चैत्र महिनासम्म सक्ने लक्ष्य लिइएको छ । कम्पनीले आयोजना निर्माण अन्तिम चरणमा पुगेकाले आफ्नो जारी पूँजीको २० प्रतिशत बराबर अर्थात् २० करोड २० लाख रुपैयाँको २० लाख २० हजार कित्ता साधारण सेयर (प्रति कित्ता अंकित मूल्य १०० रूपैयाँ) सर्वसाधारणका लागि बिक्री गर्न तयारी गरेको छ । सम्झौताले आयोजना र लगानीकर्ताबीचको सम्बन्ध सुदृढ गर्नका साथै पूँजी बजारमा जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्ने विश्वास कम्पनीका अध्यक्ष प्रधानाङ्गले व्यक्त गरेका छन् ।