देउवा नेतृत्वको समितिको पदावधि अगाडि बढाउनु हुँदैन : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवा नेतृत्वको समितिको पदावधि बढाउन नहुने विचार राखेका छन् । पार्टी पदाधिकारी बैठकमा महामन्त्री थापाले वर्तमान समितिको अवधि थप नगर्ने पक्षमा धारणा राखेका हुन् । देउवा नेतृत्वको कार्यसमितिको चार वर्षे कार्यकाल यही मंसिरमा सकिँदैछ । महामन्त्री थापाले भने, ‘मंसिरमा नियमित महाधिवेशन गर्न सकिन्छ । नियमित नहुने हो भने विशेष महाधिवेशन गरौं ।’ केन्द्रीय समितिको अवधि नथप्ने निर्णयले सभापति देउवाको मात्रै बर्हिगमन नभएर सबैको हुने बताए । उनले थपे, ‘सभापतिको मात्रै बर्हिगमन होइन ।

केन्द्रीय समितिको अवधि नबढाएपछि हामी सबैको पद जाने हो । कांग्रेस विधान अनुसार एक वर्ष अवधि थप्न सकिने व्यवस्था छ । वर्तमान समितिको अवधि थप्ने अधिकार केन्द्रीय समितिलाई छ । एक वर्ष थप्नै नहुने पक्षमा उभिएका महामन्त्री थापाले भने, ‘यो समितिको अवधि थप्ने गरी मैले प्रस्ताव केन्द्रीय समितिमा लान्न ।’ केन्द्रीय समितिको बैठक असोज २६ गतेका लागि बोलाइएको छ । केन्द्रीय समितिबाट कार्यतालिका पारित गरेर मंसिरमा १५ औं महाधिवेशन गर्न सकिने उनले बताए । ‘२०७२ सालमा पनि महाधिवेशन छिटो सक्ने गरी कार्यतालिका बनाएर गरेका हौं । अहिले पनि सकिन्छ,’ महामन्त्री थापाले भने । नियमित महाधिवेशन गर्न सकिँदैन भन्ने हो भने विशेष महाधिवेशन गर्नुपर्ने थापाले बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *