बंगलादेशमा पूर्वप्रधानमन्त्री शेख हसिना र २७ जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले बुधबार पूर्वप्रधानमन्त्री शेख हसिना, उनका सुरक्षा सल्लाहकार मेजर जनरल (अवकाशप्राप्त) तारिक अहमद सिद्दिक र अरू २६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आवामी लिग सरकारको कार्यकालमा भएको भनिएको जबर्जस्ती बेपत्तासम्बन्धी दुई छुट्टाछुट्टै मुद्दामाथि सुनुवाइ गर्दै न्यायाधिकरणले यो आदेश दिएको हो । न्यायाधिकरणले अभियोजन पक्षले दायर गरेको मानवताविरुद्धको अपराधलगायत आरोप स्वीकार गर्दै सुनुवाइपछि पक्राउ पुँर्जी जारी गरेको छ ।
एउटा मुद्दा विपक्षी कार्यकर्ताको अपहरण र उनीहरूलाई टास्कफोर्स इन्टरोगेसन सेलमा दिइएको यातनासँग सम्बन्धित छ । त्यो कथित रूपमा र्यापिड एक्सन बटालियनद्वारा सञ्चालित थियो । अर्को मुद्दा डाइरेक्टोरेट जनरल अफ फोर्सेज इन्टेलिजेन्सको संयुक्त सोधपुछ कक्षमा गरिएको थुनामा राख्ने र यातना दिनेसँग सम्बन्धित छ । ७८ वर्षीया हसिनाले गत वर्ष देशव्यापी विद्यार्थी नेतृत्वको आन्दोलनपछि पदच्युत भएदेखि धेरै मुद्दाको सामना गरिरहेकी छन् । टाइम्स अफ इन्डियाबाट ।