सभापति देउवासहित कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी आज बैठक दिउँसो १ बजे ललितपुरको होटेल हिमालयमा बस्नेछ । पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको बैठकले असोज २६ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेन्डा तय गर्नेछ । देउवाले असोज २६ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देउवाले पहिलोपटक पदाधिकारी बैठक बोलाएका हुन् । जेनजी आन्दोलनका क्रममा घरमै आक्रमण परेर घाइते भएर अस्पताल भर्ना भएका देउवा त्यसयता सार्वजनिक भएका छैनन् । देउवा अस्पतालबाट डिस्चार्ज भए पनि अहिलेसम्म सार्वजनिक भएका छैनन् । घरमा समेत लुटपाट, आगजनी र तोडफोड भएपछि अस्पतालबाट निस्केपछि उनी भाडाको घरमा बस्दै आएका छन् । सीमित नेतासँग मात्र भेट गरेका सभापति देउवाले यही असोज २६ गतेका लागि डाकिएको केन्द्रीय समिति बैठकका एजेन्डा तय गर्न आज पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका हुन् । कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले देउवालाई पदबाट हटाउन विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन गरिरहेका छन् ।
जेनजी आन्दोलनपछि व्यक्ति व्यक्तिका वक्तव्य आए पनि नेपाली कांग्रेसले नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने धारणा सार्वजनिक गरिसकेको छैन । जेनजी आन्दोलनपछि नियुक्त प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटित भएको छ । प्रतिनिधिसभाको विघटनलाई देउवाबाहेकको कार्यसम्पादन समिति बैठकबाट नेपाली कांग्रेसले असंवैधानिक भनेको छ । महामन्त्री द्वयले भने कार्यसम्पादन समितिको बैठकले विघटन असंवैधानिक भने पनि फागुन २१ गतेका लागि घोषित निर्वाचनलाई लक्षित गर्दै विशेष महाधिवेशनको मुद्दा अघि सारेका छन् । महामन्त्रीहरूको पहलमा देशभर हस्ताक्षर अभियान चलिरहेको छ । महामन्त्री गगन थापानिकट केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बुधबारसम्म ४०५ भन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेका छन् । उनको दाबी अनुसार शुक्रबारसम्म ५० प्रतिशतभन्दा बढीको हस्ताक्षर संकलन गरी दर्ता गर्ने तयारी छ ।