हृदयघातको जोखिम कम गर्ने उपाय

मान्छेको जीवन मुटुको धड्कन सुरु भएसँगै सुरु भएर मुटु चल्न बन्द हुँदासम्म रहन्छ । त्यसैले पनि मुटु शरीरको अत्यन्तै महत्त्वपूर्ण अंग हो । यसले शरीरभरि रगत पम्प गरेर अक्सिजन र आवश्यक पोषक तत्वहरू पुर्‍याउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार, मुटु र रक्तसञ्चारसँग सम्बन्धित रोगहरू संसारमा मृत्युका सबैभन्दा ठूला कारण हुन् । हरेक वर्ष करिब १.८ करोड मानिसको यिनै कारणले मृत्यु हुन्छ । ती पाँचमध्ये चार जनाको मृत्यु हृदयधात र स्ट्रोकका कारण हुन्छ । कार्डियोलोजिस्टहरू भन्छन्, मुटु स्वस्थ राख्न दैनिक ध्यान दिनु जरुरी छ । स्वस्थ वयस्क व्यक्ति आराम गरेर बसेको अवस्थामा मुटुको धड्कन ६० देखि १०० प्रति मिनेटबीच हुनुपर्छ । अमेरिकी कार्डियोलोजिस्ट डा. इवान लेविन भन्छन्, ‘सन्तुलित आहार, नियमित व्यायाम र सुर्तीजन्य वस्तुको सेवनबाट टाढा रहेर हामी जीवनको सुरुको समयदेखि नै मुटुलाई हुने क्षति कम गर्न सक्छौं ।’
हृदयघात के हो
हृदयघात तब हुन्छ जब मुटुसम्म जाने रक्तसञ्चार अचानक रोकिन्छ । रगतको आपूर्ति रोकिनेबित्तिकै अक्सिजन मुटुसम्म पुग्दैन र मुटुका मांसपेशीमा क्षति हुन थाल्छ । यदि तुरुन्त उपचार नपाइए, यो क्षति स्थायी हुन सक्छ । यदि मुटुको ठूलो भाग प्रभावित भयो भने मुटुको धड्कन बन्द हुन्छ । जसलाई कार्डियाक अरेस्ट भनिन्छ । यसो हुँदा मानिसको मृत्यु हुन सक्छ ।ह्दयघातका करिब आधा मृत्यु लक्षण देखा परेको ३–४ घण्टाभित्रै हुन्छन् । त्यसैले लक्षण देखिँदा तुरुन्त आपतकालीन उपचार लिनु अत्यावश्यक छ । यसको मुख्य कारण कोरोनरी हर्ट डिजिज हो, जसमा धमनीहरूमा ‘प्लाक’ जम्मा भएर ती साँघुरो हुन्छन् र रगतको प्रवाह कम हुन्छ वा रोकिन्छ । अमेरिकामा हरेक वर्ष झन्डै ८ लाख मानिस हृदयघातको शिकार हुन्छन् । तीमध्ये करिब ५ लाखलाई पहिलो पटक हृदयघात भएको हुन्छ भने ३ लाख पहिले पनि भोगिसकेका हुन्छन् । रोग नियन्त्र तथा रोकथाम केन्द्र सीडीसीका अनुसार, अमेरिकामा औषतमा हरेक ४० सेकेन्डभित्र एक जनालाई हृदयघात हुन्छ ।
कसरी थाहा पाउने
हृदयघातका लक्षणहरू फरक–फरक हुन सक्छन् । सबैभन्दा सामान्य लक्षण छातीमा दुखाइ हो । सुरुमा तीब्र दुखाइ हुँदैन । छातीमा केहि दबाब परेको वा कस्सिएको जस्तो महसुस हुन्छ । केहीमा छातीसँगै गर्दन र दुबै हातमा पनि दुखाइ हुन सक्छ । क्यालिफोर्नियाकी कार्डियोलोजिस्ट डा. एइलिन बार्सेघियन भन्छिन् ‘कहिलेकाहीं हृदयघातलाई मानिसले अपच ठान्न सक्छन् । तर अपचभन्दा फरक कुरा यो हो कि हृदयघातमा शरीरका अन्य भागहरू बायाँ हात, ढाड वा पेटमा पनि दुखाइ हुन्छ ।’ अन्य लक्षणहरूमा चक्कर लाग्ने, हल्का टाउको हुने, अत्यधिक पसिना आउने, सास फेर्न गाह्रो हुने हुन्छ । कतिपय अवस्थामा लक्षणहरू अचानक देखिन्छन्, तर कहिलेकाहीँ केही घण्टा वा दिनअघि नै चेतावनीका संकेतहरू देखा पर्न सक्छन् जस्तै आराम गर्दा पनि नघट्ने छातीको दुखाइ । डा. बार्सेघियन भन्छिन्, ‘यदि तीन घण्टाभित्र रगतको प्रवाह पुनः सुरु भएन भने मुटुको मांसपेशी मर्न थाल्छ। त्यसैले एम्बुलेन्स आउँदासम्म एस्पिरिन चपाउन सकिन्छ ।’ कार्डियोलोजिस्टहरू जोड दिन्छन् ‘यदि हृदयघात भइरहेको छ जस्तो लाग्छ भने तुरुन्त आपतकालीन उपचार लिनुपर्छ ।’ डा। इवान लेविन भन्छन् ‘आफ्नो जोखिम बुझ्नुपर्छ— उमेर, तौल, धूम्रपान, मदिरा सेवन र परिवारमा मुटु रोगको इतिहास छन् भने र छातीमा दबाब महसुस भइरहेको छ भने तुरुन्त अस्पताल जानुपर्छ ।’ अनुसन्धानकर्ताहरूका अनुसार, कार्डियोभास्कुलर रोगलाई लामो समयदेखि ‘पुरुषहरूको रोग’ मानिँदै आएको छ । यसैले महिलाहरूलाई समेटेर गरिने अध्ययनहरू कम भएका छन्, र उपचार पनि प्रायः पुरुषमा परीक्षण गरेर महिलामा लागू गरिन्छ । मुटु रोगको उपचारमा पहुँचका बारेमा बेलायतमा ३ लाख मानिसहरूमा एक अध्ययन गरिएको थियो । यसको रिपोर्ट ब्रिटिश मेडिकल जर्नल हार्टमा प्रकाशित भएको छ । उपेक्षित, उत्पीडित समुदायका व्यक्तिहरू मुटु रोगको उपचारमा सहज पहुँचबाट वञ्चित भएको कुरा उक्त अध्ययनको रिपोर्टले बताएको थियो । बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार, केही जोखिम कारकहरूले पुरुषहरूको तुलनामा महिलाहरूलाई बढी असर गर्न सक्छन् । यी जोखिम कारकहरूमा उच्च रक्तचाप, धूम्रपान र मधुमेह समावेश छन् ।

हृदयघातबाट जोगिने उपाय

-सन्तुलित आहार, नियमित व्यायाम र कोलेस्टेरोल तथा ब्लड प्रेशर नियन्त्रणमा राख्ने ।

-कोलेस्टेरोल शरीरका स्वस्थ कोषहरूको निर्माणका लागि आवश्यक हुन्छ, तर यसको मात्रा बढी भए मुटु रोगको खतरा बढ्छ ।

-कम बोसो र बढी फाइबरयुक्त खाना खानुपर्छ । दिनमा ५ ग्राम भन्दा बढी नुन नखाने ।

-प्रशोधित खाना र स्याचुरेटेड फ्याट जस्तै रातो मासु, केक, बिस्कुट, बटर, ससेज, पाम आयल कम गर्नुपर्छ ।

-अनसैचुरेटेड फ्याट अर्थात् प्राकृतिक बोसोयुक्त खानेकुरा जस्तै माछा, एवोकाडो, बदाम र वनस्पति तेल रोज्नुपर्छ ।

-संतुलित आहारसँगै नियमित व्यायाम जोड्नु मुटु स्वस्थ राख्ने सबैभन्दा प्रभावकारी उपाय हो ।

-तौल सन्तुलित रहँदा रक्तचाप नियन्त्रणमा रहन्छ ।

-जसलाई पहिले हृदयघात भइसकेको छ, तिनमध्ये करिब २० प्रतिशत व्यक्तिलाई पाँच वर्षभित्र पुनः अट्याक हुन सक्छ । त्यसैले यस्ता व्यक्तिले सचेत हुनुपर्छ ।
युवाहरूमा बढ्दो खतरा
सामान्यतया उमेरसँगै हृदयघातको खतरा बढ्ने गर्छ, तर पछिल्ला वर्षहरूमा युवाहरूमा पनि यसको दर बढेको छ । यूएस नेशनल सेन्टर फर हेल्थ स्टाटिस्टिक्सका अनुसार, २०१० मा ३५–५४ वर्ष उमेरका ०.५५ प्रतिशत मानिसलाई हृदयघात भएको थियो । तर २०१८ सम्म यो बढेर ०.७५ प्रतिशत पुगेको छ । डा. इवान लेविनका अनुसार, यसको प्रमुख कारण युवाहरूको अस्वस्थ जीवनशैली हो । प्रोसेस्ड फूडको अत्यधिक सेवन र व्यायामको कमी हो । उनी भन्छन्, ‘हामी सबैले बढी हिँड्नुपर्छ, जिम जानैपर्ने होइन, तर केही न केही व्यायाम गर्न जरुरी छ । कोभिडपछि घरबाट काम गर्नेहरूले गलत र आल्छी बानी बसालेका छन् ।’ धूम्रपानले धमनिमा बोसो जम्मा गराउँछ, तर डा. लेविन जस्ता विशेषज्ञहरू भेपिंगका अज्ञात प्रभावबारे पनि चिन्तित छन् । डा. बार्सेघियन भन्छिन् ‘जिन सम्बन्धी जोखिम पनि कम उमेरमा हृदयघातको सम्भावना बढाउँछ । साथै तनाव, निद्राको कमी र खराब जीवनशैली पनि अब प्रमुख कारणका रूपमा चिनिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *