बाणिज्य बैंक बन्ने बाटोमा मुक्तिनाथ बिकास बैंक
काठमाण्डौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बाणिज्य बैंकमा रूपान्तरण हुने प्रक्रिया अघि बढाएको छ। बैंकले हाल कायम चुक्तापूँजीबाट पूँजी वृद्धि गर्दै बाणिज्य बैंकमा रूपान्तरण गर्ने प्रस्ताव आगामी कात्तिक १५ गते हुने वार्षिक साधारणसभा ९एजीएम० मा लैजाने तयारी गरेको छ। बैंकले जारी गरेको सूचनाअनुसार, साधारणसभाले पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरेपछि मात्र बाणिज्य बैंक बन्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाइनेछ। यस कदमलाई बैंकले आफ्नो सेवा दायरा, पहुँच र प्रतिस्पर्धात्मक क्षमता विस्तार गर्ने रणनीतिक पहलका रूपमा व्याख्या गरेको छ।
हाल मुक्तिनाथ विकास बैंकको चुक्तापूँजी ७ अर्ब ४ करोड रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.५३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त बोनस वितरणपछि बैंकको चुक्तापूँजी ८ अर्ब रुपैयाँ पुग्नेछ। साथै, गत वर्ष पारित १ अर्ब रुपैयाँ बराबरको अविमोच्य असंचित अग्राधिकार सेयर जोड्दा चुक्तापूँजी ९ अर्ब रुपैयाँ नाघ्नेछ। बैंकका अनुसार पूँजी सुदृढीकरणपछि बाणिज्य बैंकमा रूपान्तरणले ग्राहक सेवा विस्तार, वित्तीय पहुँच वृद्धि तथा डिजिटल बैंकिङ क्षमतामा गुणात्मक सुधार ल्याउनेछ। नेपालमा पछिल्लो समय विकास बैंकहरू बाणिज्य बैंकमा रूपान्तरण हुने प्रवृत्ति बढ्दै गएको छ। पूँजी, सेवा दायरा र नियामकीय मापदण्ड पूरा गर्दै मुक्तिनाथ विकास बैंक पनि सो समूहमा प्रवेश गर्ने तयारीमा रहेको छ।