आज विश्व खाद्य दिवस मनाइँदै

काठमाडौं । सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन आज ४५ औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यो वर्ष ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने नारासहित दिवस मनाउन लागिएको छ । समारोह मनाउन कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । विभागका महानिर्देशक सञ्जेलले खाद्य वस्तुको प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशन तथा प्रसारण गरेर दिवश मनाउने तयारी गरिएको जानकारी दिए ।

भोकमरीपीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यलाई प्रवर्द्धन गर्न दिवसले सहयोग पुर्‍याउने उनको विश्वास छ । दिवशका अवसरमा राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी सङ्घ संस्थाहरूसँगको समन्वयमा प्रचारप्रसार, नारामा आधारित अन्तरक्रिया, लेख–रचना प्रकाशन तथा अन्य विभिन्न कार्यक्रम गरिने छ । विभागले प्रत्येक वर्ष अक्टोबर १६ मा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेको छ । सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र सङ्घको २० औँ साधारणसभाले सङ्गठनको स्थापना भएको दिनका अवसरमा खाद्य दिवस मनाउने प्रस्ताव पारित गरेको स्मरणमा सन् १९८१ देखि यो दिवस मनाउँदै आएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *