चलचित्र विकास बोर्डले १७८ चलचित्रकर्मीलाई परिचयपत्र वितरण
काठमाडौं । चलचित्र विकास बोर्डले १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ । २ दशकभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका उनीहरूलाई शुक्रबार आयोजित समारोहमा परिचयपत्र बाँडियो । यसअघि ३० वर्षभन्दा बढी समय चलचित्र क्षेत्रमा योगदान दिएका कलाकार, निर्देशक, प्राविधिक र अन्य क्षेत्रका व्यक्तिलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ ८८ जनालाई प्रदान गरिएको थियो । बोर्डले यसै आर्थिक वर्षदेखि विशिष्ट चलचित्रकर्मीका लागि वार्षिक डेढलाख रुपैयाँ बराबरको स्वास्थ्य उपचार बीमा तथा सामान्य चलचित्रकर्मीका लागि ७५ हजार रुपैयाँ बराबरको स्वास्थ्य बीमा सुविधा सुरु गरेको छ ।
कार्यक्रमको अध्यक्षता बोर्ड अध्यक्ष दिनेश डीसीले गरेका थिए । विशेष अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव कोषहरी निरौला रहेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष डीसीले चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्नु केवल औपचारिकता नभई पेशागत पहिचान र अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाउने कदम भएको बताए । उनले भने, ‘चलचित्रकर्मीको पहिचान, सामाजिक सुरक्षा र प्रतिष्ठाको संरक्षणका लागि बोर्ड निरन्तर क्रियाशील रहन प्रतिबद्ध छ ।’ सो अवसरमा चलचित्र क्षेत्रका वरिष्ठ कलाकार, निर्देशक, निर्माता र प्राविधिकहरूको उपस्थिति रहेको थियो ।