दोस्रो जितसँगै लुम्बिनीलाई राहत
काठमाण्डौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकालेको छ। लुम्बिनीले आफ्नो पाँचौ खेलमा दोस्रो जित निकालेको छ भने अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। यसले लुम्बिनीलाई शीर्ष चारमा रहेर प्लेअफ पुग्नका लागि राहत भएको छ। यता पोखराले भने चारमध्ये तीन खेलमा पराजय भोगेको छ भने प्लेअफ यात्रा कठिन बन्दै गएको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले ७ विकेटको क्षतिमा दुई बल खेल्न बाँकी छदा पूरा गर्यो। अन्तिम ओभरमा १० रन चाहिएको स्थितिमा लुम्बिनीका सन्दीप जोराले पोखराका म्याट टेलरविरूद्ध पहिलो बलमा २ रन, दोस्रो बलमा चौका, तेस्रो बल डट र चौथो बलमा चौका प्रहार गरेका थिए। जोराले २२ बलमा नटआउट २५ रन बनाए।
उनले २ चौका र १ छक्का प्रहार गरे। त्यसअघि कप्तान रोहित पौडेलले ४० रन र निशोसन डिक्वेलाले ३७ रन बनाएका थिए। गुल्बादिन नइबले ११ बलमा १७ रनको योगदान गरे। बलिङमा पोखराका बिपिन खत्री, म्याट टेलर र सागर ढकालले २,२ विकेट लिए। टस जितेको लुम्बिनीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराका दुई ब्याटरले अर्धशतक बनाएपछि ५ विकेटको क्षतिमा १५० रन जोड्यो। पोखराका लागि एडम रोशिङ्टनले सर्वाधिक ८१ रन बनाए। उनले ६३ बलमा ७ चौका र ५ छक्का हाने। त्यस्तै जेम्स नीशमले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ५१ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कप्तान कुशल भूर्तेल शून्यमै आउट भए। अघिल्लो खेलमा गोल्डेन डक भएका उनी आज पनि गोल्डेन डक नै हुन पुगे। बलिङतर्फ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुईरदुई तथा गुल्बादिन नइबले एक विकेट लिए।















