सांग्रिला डेभलपमेन्ट बैंक मर्जरमा जाने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक सञ्चालक समितिको मंसिर १२ गते बसेको बैठकले कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमा जाने निर्णय गरेको छ । साथै, बैंक सञ्चालक समितिले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न पुस ७ गते काठमाडौंमा २१औँ वार्षिक साधारण सभा बिहान साढे १० बजे डाकेको छ । सभाले गाभ्ने,गाभिने तथा प्राप्ति,समाहित हुने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने र सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने लगायत आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

सभाले गत आर्थिक वर्ष २०८१।८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार रुपैयाँको ५ प्रतिशतका दरले १७ करोड ७८ लाख १२ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजन सहितका लागि ५.३५ प्रतिशतका दरले १९ करोड ५ लाख ५३ हजार रुपैयाँ नगद गरी कुल १०.३५ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । सभाले गत आर्थिक वर्ष २००१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२।८३ को लागि लेखापरीक्षण गर्न डि.एस एण्ड एसोसिएट्स, चार्टर्ड एकाउण्टेन्टसलाई पुनः नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्नेछ ।

बोनस सेयर वितरण पश्चात बैंकको जारी तथा चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार रुपैयाँ पुयाउने, संचालकहरुलाई प्रदान गरिने बैठक भत्ता तथा टेलिफोन, पत्रपत्रिका र इन्टरनेट खर्च बापत प्रदान गर्ने रकम वृद्धि गर्ने, बैंकको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर २३ गतेदेखि पुस ७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *