यशोदा फुड्सको ८६५ केडब्ल्यूपी सोलार रूफ–टप सञ्चालनमा

काठमाण्डौं । नेपालमा पहिलोपटक हरित ऊर्जामा आधारित नुडल्स उत्पादनको उपलब्धि हासिल गर्दै यशोदा फुड्सले करेन्ट नुडल्स निर्माण कार्यलाई पूर्णरूपमा दिगोपनासँग जोड्ने प्राविधिक कदम सार्वजनिक गरेको छ। कम्पनीले चन्द्रौटा, कपिलवस्तुस्थित उत्पादन प्लान्टमा ८६५ केडब्ल्यूपी क्षमताको सोलार रूफ–टप प्रणाली जडान गरी स्वच्छ ऊर्जा मार्फत उत्पादन औपचारिक रूपमा सुरु गरिसकेको छ। २३ नोभेम्बर २०२५ देखि सञ्चालनमा आएको प्लान्टमार्फत वार्षिक १० लाख युनिटभन्दा बढी विद्युत उत्पादन हुने तथा औद्योगिक आवश्यकतामा करिब ८० प्रतिशत बिजुली आपूर्तिको आवश्यकता पुरा हुने कम्पनीको दाबी छ। यससँगै करेन्ट नुडल्स नेपालकै पहिलो ‘ग्रीन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी’ बनेको छ। सौर्य प्रणाली स्थापना पश्चात विद्युत खर्च करिब ६५ प्रतिशतले घट्ने अपेक्षा गरिएको छ। साथै, कार्बन उत्सर्जनमा वार्षिक २,००० टनसम्म कमी आउने तथ्यांक सार्वजनिक गरिएको छ।

यसले वातावरणमैत्री उत्पादन प्रणालीतर्फ नेपालको खाद्य उद्योगमा नयाँ मोड सिर्जना गरेको विशेषज्ञहरूको टिप्पणी छ। उद्घाटन समारोहमा ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जी।पी। साहले सौर्य क्षमताबाट लागत तथा कार्बन दुवै घट्ने भएकाले बजार प्रतिस्पर्धामा करेन्ट नुडल्स अझ बलियो बन्ने विश्वास व्यक्त गरे। एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले स्वच्छ ऊर्जा अपनाउने प्रवृत्तिले नेपाली उद्योग क्षेत्रलाई डिकार्बोनाइजेशनतर्फ अघि बढाएको उल्लेख गरे। परियोजना निर्माण कार्य प्राइम रिन्यूएवल्स प्रालिले तीन महिनाभित्र सम्पन्न गरेको हो। एनएमबी बैंकबाट वित्तीय सुविधा उपलब्ध गराइएको तथा डीकेटीआई (जर्मन ग्रान्ट) अन्तर्गत एईपीसीले व्याज अनुदान सहित सहयोग प्रदान गरेको जानकारीसमेत सार्वजनिक गरिएको छ। नेपालमा हरित ऊर्जाको औद्योगिक उपयोग तीव्रगतिमा बढिरहेको अवस्थामा सौर्य आधारित उत्पादन मोडेललाई दीगो उद्योग प्रवर्द्धनको प्रभावकारी उपायका रूपमा हेरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *