केपी ओली ‘गिरफ्तार’ भनेर मिडिया ट्रायल गरे : पोलिटब्युरो सदस्य बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति विद्या भण्डारीको भेट, एमाले नेता ईश्वर पोखरेलको अभिव्यक्ति तथा केही सेलिब्रेटीहरुले अध्यक्ष केपी ओलीका बारेमा गलत हल्ला फैलाउँदै मिडिया ट्रायलको प्रयास भएको बताएका छन् । नेता बस्नेतले बिहीबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एकपछि अर्को षड्यन्त्रको खेल सार्वजनिक भएको दाबी गरेका हुन् । ‘हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो,“तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयोः किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन ? म भए जान्थे, उहाँ पनि जानैपर्छ ।”, बस्नेतले भनेका छन्,‘यसबिच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ ।’ उनले २ दिन अगाडि नै पूर्व राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री सुशीला कार्कीबिच भएको भनिएको वार्तामा पनि केपी ओलीलाई गिरफ्तार गर्ने कुरा भएको रहस्य खुलेको दाबी गरेका छन् । ‘हिजै जेनजी समूहको नाममा गरिएको वार्ता र सम्झौताको नाटक,हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रम, “केपी ओली गिरफ्तार” भन्ने मिडिया ट्रायल सबै कुरा एउटै दिशातिर संकेत गर्छन्’, बस्नेतको भनाइ छ । उनले एमाले महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने, र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । ‘तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ । पार्टी आफ्नो अडानमा अडिन्छ, अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन’, बस्नेतको चेतावनी छ । बस्नेतले अब सशक्त प्रतिरोध गर्ने र सबै खेल नजन्मँदै तुहिने दाबी समेत गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *