इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा सम्पन्न ,आईपीओ जारी गर्ने तयारी

काठमाडौं । इसेवा लिमिटेडको १३औँ वार्षिक साधारण सभा काठमाडौंस्थित मेरियट होटलमा कम्पनीका सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीको अध्यक्षतामा कम्पनीका शत प्रतिशत सेयरधनीहरूको उपस्थितिमा सम्पन्न भएको छ। साधारण सभाले आ.व. २०८१।८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरेको छ । त्यसैगरी, आ.व. २०८१।८२ को लेखापरीक्षक प्रतिवेदनका आधारमा कम्पनीको खुद नाफा तथा जगेडा कोषबाट हालको चुक्ता पूँजीको ८०.५३ प्रतिशतले हुन आउने ३० करोड ६० लाख रुपैयाँ नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिएको छ । साथै, चुक्ता पूँजीको ३१.५८ प्रतिशत बराबरको १२ करोड रुपैयाँको बोनस सेयर जारी गर्ने निर्णयसमेत सभाले स्वीकृत गरेको छ । साधारण सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकहरू सुबास शर्मा र सौगात केसीलाई पुनः निर्वाचित गरेको छ ।

साथै, आ.व. २०८२।८३ का लागि पीकेएफ टी.आर. उपाध्याय एण्ड कम्पनीलाई लेखापरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय पनि पारित गरिएको छ । वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सञ्चालक समिति अध्यक्ष परशुराम कुँवर क्षेत्रीले कम्पनीको वित्तीय अवस्था तथा अन्य सूचकहरू उत्साहजनक रहेको उल्लेख गर्दै आगामी दिनमा थप सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले नियामकीय अनुपालनप्रति कम्पनीले शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताउँदै प्रयोगकर्ता, आधिकारिक प्रतिनिधि, मर्चेन्ट, नियामक निकाय तथा कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरे । त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले लगानीकर्ताहरूको विश्वास, सञ्चालक समितिको मार्गदर्शन तथा व्यवस्थापन टोलीको निरन्तर मिहिनेतका कारण कम्पनीलाई सुदृढ अवस्थामा पुर्याउन सफल भएको बताए । उनले दीर्घकालीन दृष्टि र रणनीतिक रोडम्याप तयार गर्दै जोखिम न्यूनीकरणमा कम्पनी केन्द्रित रहेको जानकारी पनि दिए । साधारण सभामा कम्पनीका सेयरधनीहरूले कम्पनीको उत्कृष्ट वित्तीय अवस्था, बढ्दो ब्राण्ड मूल्य र देश तथा विदेशमा इसेवाको सेवा तथा प्रभाव विस्तारबारे खुसी व्यक्त गरेका थिए । त्यस्तै, व्यवसाय विस्तारसँगै जोखिम र नियमनसम्बन्धी चुनौतीहरू बढ्दै गएकाले नवप्रवर्तन, लगानी, नाफा वितरण योजना, जोखिम न्यूनीकरण तथा दिगोपनमा ध्यान दिन सुझाव दिए । त्यस्तै, साधारण सभामा कम्पनीले निकट भविष्यमा आईपीओ जारी गरी सर्वसाधारण जनतासम्म पुग्ने योजना रहेको जानकारी दिइएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *