एमालेको ११औँ राष्ट्रिय महाधिवेशन भक्तपुरमा सुरु हुँदै

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन शनिबार बिहान ११ बजे भक्तपुरको सल्लाघारीमा सुरु हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले विशेष समारोहबीच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भक्तपुरको सल्लाघारीस्थित करिब १०८ रोपनी क्षेत्रफलमा फैलिएको खुला चौरमा महाधिवेशन आयोजना गरिएको हो । महाधिवेशनलाई भव्य र ऐतिहासिक बनाउने तयारी अन्तिम चरणमा पुगेको एमालेले जनाएको छ । उद्घाटन समारोहका लागि विशाल मञ्च निर्माण गरिएको छ भने अत्याधुनिक ध्वनि तथा दृश्य प्रविधि जडान गरिएको छ । हजारौँ प्रतिनिधि, पर्यवेक्षक र अतिथिहरूको सहभागिता रहने अपेक्षा एमालेले गरेको छ ।

एमालेले ११औँ महाधिवेशनको उद्घाटन सत्रमा करिब तीन लाख मानिस सहभागी हुने जनाएको छ । महाधिवेशन व्यवस्थापन समिति प्रमुख राजन भट्टराईका अनुसार २९ भन्दा बढी विदेशी नियोगका प्रमुख प्रत्यक्ष सहभागी हुनेछन् भने ३२ मित्रराष्ट्रका राजनीतिक दलहरूले शुभकामना सन्देश पठाएका छन् । भट्टराईले स्वदेशका सबै राजनीतिक दललाई उद्घाटन सत्रमा आमन्त्रण गरिएको दाबी गरे। सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिइएको छ । महाधिवेशनस्थल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ भने यातायात, स्वास्थ्य तथा स्वयंसेवक व्यवस्थापनलाई पनि व्यवस्थित बनाइएको छ । उद्घाटन सत्रमा १० हजार स्वयंसेवक परिचालन गरिने जानकारी पनि भट्टराईले दिए । एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको इतिहासमा महत्वपूर्ण मोडका रूपमा हेरिएको छ। यस महाधिवेशनले पार्टीलाई थप सुदृढ बनाउँदै आगामी राजनीतिक यात्राको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *