एमाले महाधिवेशनमा जगाती र गठ्ठाघरमा पार्किङ,सर्भिस लेनबाट जुलुस
काठमाडौं । नेकपा एमालेले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन आउनेहरुका सवारी साधनको पार्किङ गठ्ठाघर र जगाती क्षेत्रमा गर्ने व्यवस्था मिलाएको छ । काठमाडौंतर्फबाट जानेलाई गठ्ठाघर क्षेत्र र पूर्वी नाका हुँदै आउनेहरुलाई जगाती क्षेत्रमा पार्किङको व्यवस्था मिलाइएको हो । जगाती क्षेत्रका इँटाभट्टा, प्लटिङ आदि स्थलमा पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौं र ललितपुरतर्फबाट आउने सवारी साधन गठ्ठाघरसम्म मात्र लैजान पाइनेछ । त्यसका लागि सानोठिमीतर्फको खुला चौरमा पार्किङको व्यवस्था मिलाइएको छ ।
उद्घाटन समारोहमा सहभागीहरु पार्किङस्थलबाट जुलुससहित सल्लाघारीसम्म पुग्ने छन् । एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले जुलुसहरू सकेसम्म मुल सडकको दायाँ–बायाँ रहेका सर्भिस लेन प्रयोग गरी अघि बढाउने तयारी गरिएको बताए । उदघाटन समारोहमा कम्तीमा तीन लाख मानिस उतार्ने लक्ष्य एमालेले राखेको छ । महाधिवेशन उद्घाटन समारोह हुने मञ्च साँस्कृतिक झल्को दिने खालको बनाइएको छ । त्यहाँ अध्यक्ष केपी शर्मा ओलीले रिमोट कन्ट्रोलबाट झण्डोत्तोलन गरी महाधिवेशन उदघाटन गर्नेछन् । बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमा हुने एमालेले जनाएको छ । महाधिवेशनका लागि देशभरबाट एमालेका प्रतिनिधिहरू काठमाडौं उपत्यकामा भेला भएका छन् । प्रतिनिधिहरूले एमालेको नयाँ नेतृत्व चयन गर्ने छन् । अध्यक्षमा केपी शर्मा ओलीसँग ईश्वर पोखरेलले प्रतिस्पर्धा गर्ने जनाएका छन् ।
















