नयाँ सदस्यताबारे कांग्रेसले क्षेत्रीय सभापतिहरूसँग ‘भर्चुअल’ छलफल गर्दै
काठमाडौं । नेपाली कांग्रेसको ‘क्रियाशील सदस्यता व्यवस्थापन समिति’ले आज (शनिबार) १६५ निर्वाचन क्षेत्रका सभापतिहरूसँग छलफल गर्ने भएको छ । महामन्त्री गगन थापा संयोजकत्वको समितिले शनिबार प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापतिहरूसँग नयाँ क्रियाशील सदस्यताबारे छलफल गर्न लागेको हो । समिति सदस्य प्रकाश रसाइली ‘स्नेही’ले शनिबार बिहान ९ बजे देशभरका क्षेत्रीय सभापतिहरूसँग नयाँ क्रियाशील सदस्यता वितरणबारे ‘भर्चुअल’ (जुम मिटिङ) छलफल गरिने जानकारी दिए ।
‘हामीले विधानअनुसार नयाँ सदस्यता फारमहरू संसदीय निर्वाचन क्षेत्रमा पठाएका छौं,’ उनले भने, ‘त्यसअन्तर्गत वडा, पालिका, प्रदेश क्षेत्र र संघीय क्षेत्र पर्छन् । त्यहाँ देखिएका समस्या, चुनौती, सामना गर्नु परेका अप्ठ्याराहरू र समाधानका लागि गर्नुपर्ने कामबारे छलफल गर्न बैठक बस्न लागेको हो ।’ समितिले यसअघि ७७ वटै जिल्ला सभापतिहरूसँग क्रियाशील सदस्यता नवीकरणबारे ‘भर्चुअल’ बैठक गरेको थियो । समितिले आइतबार पार्टीका विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील सदस्यताको अवस्थालगायतको विषयमा निर्णय गर्ने भएको छ ।
















